काठमाडौं, माघ १६ । औषधि उद्योगीहरुले स्वदेशमा उत्पादन हुने औषधिहरुको आयात नियन्त्रणमा जोड दिएका छन् ।
देउराली–जनता फर्मास्युटिकल्सको २८औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरुले उक्त जोड दिएका हुन् ।
कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले २०० मोलिक्यूलका औषधिहरु तथा हालै सरकारले मूल्य नियन्त्रण गरेका औषधिहरु आयातमा रोक लगाउनसके औषधिको क्षेत्रमा लगानीको वातावरण बन्ने बताए ।
सरकारले नेपाली उद्यमीहरुको आत्मविश्वास बढ्ने र लगानीको उचित वातावरण बनाउन नसकिरहेको शर्माको गुनासो थियो ।
कम्पनीले आफ्नो उत्पादनलाई विज्ञान र प्रविधिको विकासलाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
२०४७ सालदेखि औषधि उत्पादन गर्दै आएको देउराली–जनता फर्मास्युटिकल्सले विभिन्न ३२० प्रकारका औषधि उत्पादन गर्दै आइरहेको जनाएको छ ।
कम्पनीले जडित क्षमताको ५५ प्रतिशतमात्र उत्पादन गर्दै आएको जनाएको छ ।
२५ प्रतिशत उत्पादन क्षमतालाई हाल विकासको चरणमा रहेका विभिन्न अत्यावश्यकीय औषधि, नसारोग, मनोचिकित्सालगायतका औषधिहरु उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्