Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


कलंकी–कोटेश्वर सडकमा समस्यै–समस्या, ‘त्रुटिबारे पहिल्यै थाहा थियो’ (भिडियो)


0
Shares

मीरा बस्नेत र दिलिप पोखरेल (इमेज)

काठमाडौं, माघ १६ । चीन सरकारले कलंकी–कोटेश्वर सडक विस्तार गरी सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

चीनले पाँच वर्ष लगाएर कलंकीदेखि कोटेश्वरसम्मको ८ लेनको १०.३९ किलोमिटर सडक विस्तार गरेको हो ।

पाँच अर्ब रुपैयाँ अनुदान सहायतामा निर्माण भएको कलंकी–कोटेश्वर सडक जति आकर्षक छ, त्यति नै समस्या पनि छ ।

चक्रपथको कोटेश्वर–कलंकी सडकखन्ड पुग्दा निकै नै आकर्षक लाग्छ । ठूला र खुला सडक अनि सवारी–साधन हुँइकिएको मनमोहक दृश्य देखेपछि आकर्षक त लाग्ने नै भयो ।

यो सडक चौडामात्र हैन, बलियोपनि छ । तर, जति आकर्षक छ, यो सडकखन्डमा त्यति नै समस्यापनि छ ।

सहरको बीचभागमा पर्ने यो सडक सहरबासीले दैनिक प्रयोग गर्ने अन्य सडकजस्तो छैन ।

सडकको मुख्य लेन ५० किलोमिटर प्रतिघन्टाको गतिमा गाडी चलाउन मिल्नेगरी बनाइएको छ । तर, पैदलयात्रीलाई सडक वारपार गर्न आवश्यक पूर्वाधारको भने पूरै बेवास्ता गरिएको छ ।

यस सडकखन्डमा कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु र कलंकीमामात्र ‘जेब्राक्रसिङ’ छ । पर्याप्त जेब्राक्रसिङ नहुँदा यात्रीहरु ज्यान जोखिममा राखेर जथाभावी सडक वारपार गरिरहेका भेटिन्छन् ।

चीन सरकारले नै कोटेश्वर, ग्वार्को र बागडोलमा गरी तीनओटा आकाशेपुल बनाइदिएको छ । तर, यो पर्याप्त छैन । जसका कारण करिब तीन किलोमिटर हिँडेपछिमात्र आकाशेपुल भेटिन्छ ।

सडक ८ लेनको त छ तर चोक–चोकमा सवारी ‘क्रसिङ’ नभएकाले धेरै लेन भएपनि सदैव जाम हुन्छ र दुर्घटना पनि उत्ति नै हुन्छ ।

कतिपय स्थानमा विकल्प नै नहुँदा टाढासम्म पुगेर फर्कनुपर्ने बाध्यता पनि छ ।

सडकखन्ड हेर्दा आकर्षक भएपनि सडक सुरक्षाका सामान्य पूर्वाधारसम्म छैन । बस स्टेसन, डिभाइडर, ट्राफिक बत्ती कहीँ भेटिइँदैन ।

‘त्रुटिबारे पहिल्यै थाहा थियो’

सडक डिजाइन स्वीकृत गर्दाका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला अहिले देखिएका त्रुटिहरुबारे पहिल्यै थाहा भएको बताउँछन् ।

तर, डिजाइन परिवर्तन गर्दा समय लाग्ने हुनाले त्रुटिहरु सच्याउने काम नेपाल सरकारले नै गर्नेगरी काम अघि बढाइएको फितलो जवाफ दिन्छन् ।

दुर्वतर्फको लेन छुट्याउन तत्काल रोड डिभाइडर राख्नुपर्ने र सम्पूर्ण आकाशेपुल नबनेसम्मका लागि हरेक ६०० मिटरमा जेब्राक्रसिङ बनाउनुपर्ने उनको सुझाव छ ।

सडक हस्तान्तरण भएपनि अझैपनि थुप्रै कामहरु बाँकी छन् । डिजाइनअनुसारको ‘सर्भिस ट्रयाक’को काम सम्पन्न भएको छैन ।

अब बाँकी काम नेपाल सरकारले नै गर्ने भएकाले सर्भिस ट्रयाक, साइकल ट्रयाक र फुटपाथलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

६ महिनामै १० जनाको ज्यान गइसक्यो

एकदमै व्यस्त सडक भएकाले पूरा तयार हुन्जेलसम्म सवारी आवागमन रोक्न ट्राफिकले पनि सकेन ।

पूर्णसुरक्षा संयन्त्र नअपनाइ हतार–हतार खुला गरिएको यो सडकमा यस आर्थिक वर्षको हालसम्ममा ५२४ ओटा सवारी दुर्घटना भइसकेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार दुर्घटनामा परेर १० जनाको मृत्युसमेत भइसकेको छ ।

महाशाखाका प्रमुख एसएसपी वसन्त पन्त यस सडकखन्डमा दुर्घटना बढ्दो अवस्थामा रहेको बताउँछन् । सडकमा भएका त्रुटिहरु तत्काल सच्याउनुपर्ने उनको पनि धारणा छ ।

भिडियो हेर्नुहोस्