Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


डोटी खुला दिसामुक्त जिल्ला घोषित


0
Shares

देशभरकै ४१औं जिल्लाकारुपमा डोटीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

बुधबार सदरमुकाम सिलगढीमा आयोजित सांस्कृतिक झाँकी र र्‍यालीसहित सरोकारवालाहरुको उपस्थितिमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ ।

कार्यक्रममा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगानाले खुला दिसामुक्त जिल्ला घोषणा गरेका थिए ।

राष्ट्रिय सरसफाइ रणनीति–२०१० अनुसार सन् २०१७ भित्र राष्ट्रलाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने योजना तय गरिएको छ ।

सोही योजनाअनुसार सन् २०११ मा डोटी जिल्लाको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी रणनीतिक योजना तयार पारेर पाँच वर्षभित्र अर्थात् सन् २०१५ भित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिइएको थियो ।

कार्यक्रममा जिल्लाको सरसफाइ प्रतिवेदन प्रस्तुत् गर्दै क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका इन्जिनियर तथा जिल्ला खानेपानी, स्वास्थ्य तथा सरसफाइ समन्वय समितिका सदस्यसचिव रमेश मण्डलले जिल्लाका शतप्रतिशत घरधुरीमा शौचालयको व्यवस्था भएको बताए ।

उनले ९८ प्रतिशतले आफ्नै चर्पी बनाएको र दुई प्रतिशतले साझा शौचालय प्रयोग गर्ने गरेको बताएका छन् ।

‘निर्माण भएका शौचालयहरुमा ९८ प्रतिशत सुधारिएका शौचालय छन्’–प्रतिवेदन सार्वजनिक गर्दै उनले भने–‘दुई प्रतिशत शौचालय अहिले पनि कच्ची छन् ।’

जिल्लाका ८८ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानीको पहुँच पुगेको भएपनि दिगो र सुरक्षित खानेपानीको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।