Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


काठमाडौंमा अब आधुनिक आकाशेपुल, ‘नो माक्स सिटी’, ‘स्मार्ट पेट्रोलपम्प’


0
Shares

काठमाडौं महानगरपालिकाको प्रथम नगरसभाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले १८ सय वर्ष पुरानो इतिहास बोकेका सम्पदाहरुको पुनःनिर्माण गर्दै पालमुनि रहेका जनतलाई घर सार्नेगरी कार्यक्रम अघि बढाउन सुझाव दिए ।

उनले नगरहरुको विभाजन प्रशासनिक राजनीति हो भन्दै आसपासका नगरपालिकाहरुलाईसमेत साथमा लिएर विकास निर्माणका काम अघि बढाउन पनि सुझाव दिए ।

संयुक्त राष्ट्रसंघले तय गरेको दीगो विकासको लक्ष्यलाई पूरा गर्नेगरी काम गर्नुपर्ने भन्दै उनले ‘मौलिकता पनि जोगाउँदै र व्यावहारिक पनि बन्दै अघि बढ्नु आजको आवश्यकता हो’–भने ।

नगरसभामा महानगरपालिकाको नीति तथा कार्यक्रम पेस गरिएको थियो । नीति तथा कार्यक्रममा समाजमा पिछडिएका र न्यून आय भएका व्यक्तिहरुलाई सामुदायिक आवास कार्यक्रम सन्चालन गर्ने, काठमाडौंलाई उच्च शिक्षाको केन्द्रकोरुपमा विकास गर्ने, सडकबत्ती जडान, आधुनिक आकाशेपुल निर्माण, बसपार्क र बस स्टेसनहरुको आधुनिकीकरणलगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै, धूलो-धुवाँ नियन्त्रणका लागि ‘नो माक्स सिटी’कोरुपमा विकास गराउने, महानगरपालिकाभित्रका बस्ती वैज्ञानिकरुपमा सुरक्षित बनाउने, साइकलमैत्री सहर बनाउने, सार्वजनिक सवारी मापदन्ड लागू गराउने, हाल सन्चालनमा रहेका पेट्रोलपम्पहरुलाई ‘स्मार्ट पेट्रोलपम्प’मा परिवर्तन गर्ने, बागमती, विष्णुमती, धोवीखोलालगायतका नदीहरु अतिक्रमणमुक्त गराइ सफा गर्ने, जलवायु र माटो परीक्षण प्रयोशाला निर्माण गर्ने नीति तथा कार्यक्रम अघि सारिएको छ ।

यस्तै, करदाताको विवरण डिजिटल प्रणालीमा आवद्ध गरी करदाताको काठमाडौं ‘स्मार्ट ट्याक्स पेयर कार्ड सिस्टम’ प्रयोग प्रणालीको विकास गर्ने लगायतका कार्यक्रमहरु ल्याइएको छ ।

सबै वडामा आगोलागी नियन्त्रणका लागि प्रविधिसहित इकाइ स्थापना गर्ने कार्यक्रम समावेश गरिएको छ ।

नीति तथा कार्यक्रम काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रस्तुत् गरेका थिए ।