१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


आयुर्वेदिक उपचारमा आकर्षण, भन्छन्–ढिलो रोग निको भएपनि दीर्घकालीन असर गर्दैन


0
Shares

आयुर्वेदिक औषधिले ढिलो रोग निको भएपनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डाक्टर केकिन राईले बताए ।

‘‘अहिले विकसित मुलुकमा ‘हर्बल’ भनेर आयुर्वेदिक औषधिको प्रयोग बढेको छ’’, उनले भने, ‘यहाँ भने त्यस्तो छैन ।’ आयुर्वेदको महत्व बुझ्दै गएपछि यसमा अझ आकर्षण बढ्दै जाने उनको भनाई छ ।

झापामा आर्थिक वर्ष २०७३-७४ मा ३४ हजार १६ जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा तीन हजार ६४७ ले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७२-७३ मा जिल्लामा ३० हजार ३६९ जनाले उपचार सेवा लिएका थिए भने आव २०७१-७२ मा २६ हजार जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाले जनाएको छ ।

यस आवमा साउनमा दुई हजार ३०२, भदौमा एक हजार ९९०, असोजमा एक हजार ६१२, कात्तिकमा एक हजार ६६५, मंसिरमा दुई हजार ९१, पुसमा एक हजार ८८९, माघमा एक हजार ९३८, फागुनमा दुई हजार १२४ चैत दुई हजार २०६, वैशाखमा दुई हजार ९६, जेठमा दुई हजार ६११ र असारमा दुई हजार ४०५ जनाले आयुर्वेदिकस्वास्थ्य सेवा लिएका छन् ।

यो तथ्यांक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र सातओटा औषधालयको हो । जिल्लाको बाहुनडाँगी, बुधबारे, शनिश्चरे, दूधे, बैगुनधुरा, चकचकी र शरणामतीमा आयुर्वेद औषधालय र लखनपुर, सुरुंगा र खुदुनाबारीमा गाउँघर क्लिनिक सन्चालनमा रहेको छ ।

त्यस्तै, स्तनपायी आमा (मातृशिशु स्वास्थ्य) कार्यक्रम, निःशुल्क स्वास्थ्य आयुर्वेद स्वास्थ्य शिविर, जेष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, पूर्वकर्म, गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम र घुम्ती शिविरबाट नौ हजार ८५ जनाले सेवा लिएको कार्यालयका तथ्यांक शाखाका मनोजकुमार पण्डितले जानकारी दिए ।

यता, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सन्चालनमा ल्याएको अतिरिक्त सेवा प्रभावकारी बन्दै गएको छ । दैनिक २०-२५ जना बिरामी आउने गरेकोमा अतिरिक्त सेवा सुरु भएपछि ४०-४५ जना आउने गरेका छन् ।

कार्यालयले पञ्चकर्म र क्षारसुत्र सेवा सञ्चालनमा ल्याएपछि दैनिक आउने बिरामीको संख्यामा वृद्धि भएको कार्यालयका कविराज तीर्थराज आचार्यले जानकारी दिए । गत वैशाखदेखि सञ्चालनमा ल्याइएको उक्त सेवाबाट १० जना पायल्स र फिस्टुला रोगीको क्षारसुत्रबाट उपचार गरिएको छ । औषधिसहित रू चार हजारमा पायल्स र फिटुलाको उपचार गरिएको आचार्यले जानकारी दिए । उनका अनुसार अन्यत्र उपचार गराउँदा कम्तीमा रू १५ देखि रू २० हजारसम्म खर्च हुन्छ ।

हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर अन्तर्गत सातओटा इलाका स्तरीय आयुर्वेद औषधालय र निजीस्तरमा एक अस्पताल, एक पोलिक्लिनिक र १९ वटा क्लिनिक गरी २१ वटा क्लिनिकबाट आयुर्वेद सेवा सन्चालन भइरहेको छ । रासस

यो पनि पढ्नुहोस्

आयुर्वेदिक औषधिको प्रयोग बढ्दै, यस्तो छ कारण (भिडियो)