१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


बाँकेमा ‘अनिश्चितकालीन’ सबै अस्पताल र निजी क्लिनिक बन्द


0
Shares

गत असार २८ गते नेपालगन्जस्थित जानकी अस्पतालका चिकित्सक डा.श्यामसुन्दर यादवलाई दुव्र्यवहार गर्ने अभियुक्तमाथि स्थानीय प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएका विरोधमा संघले मंगलबार (आज)देखि अनिश्चितकालीन अस्पताल बन्दको आह्वान गरेको हो ।

संघका सचिव डा.आरके झाका अनुसार चिकित्सक डा.यादवमाथि दुव्र्यवहार र अस्पतालमा क्षति पुर्‍याउने पाँच जनाको नाम किटान गरी निवेदन दिँदा समेत स्थानीय प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएकाले बाध्य भएर आन्दोलन आह्वान गरिएको हो ।

संघको आह्वानमा बाँके जिल्लाका सरकारी तथा निजी अस्पताल र निजी क्लिनिकसमेत बन्द गरिएपनि अस्पतालका आपत्कालीन सेवा भने सन्चालनमा राखिएको छ ।

संघले सो घटनामा सन्दीप सिंह, यादव बस्याल, कमल शाही र महेश खतिवडा अभियुक्त भएको किटानी जाहेरी दिएको थियो । अहिले जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबीच सो घटनाका विषयमा छलफल भइरहेको बाँकेका प्रजिअ रविलाल पन्थले जानकारी दिए ।

अस्पतालका सेवा बन्द गरिएकाले टाढा–टाढाबाट उपचारका लागि नेपालगन्ज आएका बिरामी र तिनका आफन्तले सास्ती भोग्नुपरेको छ । रासस