-विराज रोस्यारा/ईमेज
कैलाली । वन मन्त्रालयले रुख काट्न स्वीकृति दिन ढिला गरेको भन्दै कैलालीको धनगढीमा निर्र्माणाधीन चक्रपथमा रुख भएकै अवस्थामा कालोपत्रेको तयारी सुरु गरिएको छ ।
गत असारमै वातावरणीय प्रभाव मूल्यांकन गरी रुख कटानको अनुमतिका लागि फाइल पठाइए पनि स्वीकृत नभएको भन्दै आयोजनाले रुख भएकै अवस्थामा कालोपत्रे गर्ने तयारी गरेको हो ।
झन्डै २ अर्बको लागतमा धनगढी उपमहानगर क्षेत्रमा २२ किलोमिटर रिङ्गरोडसहित ९२ किलोमिटर सडक निर्माण भइरहेको छ ।
संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीका अनुसार सोहीमध्ये ४२ किलोमिटर क्षेत्रकोे केही खण्डमा २ सय ८४ वटा सानाठूला रुख परेका छन् ।
धनगढीमा निर्माणाधीन रिङरोडअन्तर्गतको मनेहरा जाखोरताल सडकको बीचमा दर्जनभन्दा बढी रुख भए पनि कालोपत्रेका लागि गिट्टी बिच्छ्याएर रोलिङ्ग गरिसकिएको छ । बीच सडकमा भएका रुखमा ठोक्किएर दुर्घटनाको जोखिम रहेको भन्दै रुख काटेरमात्र कालोपत्रे गर्नुपर्ने स्थानीयको सुझाव छ ।
संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले गत असार महिनामै वातावरणीय प्रभाव मूल्यांकन गरी रुख कटानको अनुमतिका लागि फाइल पठाइसकेको र त्यो फाइल मन्त्रालयमै थन्किएकाले आयोजनाले निर्माणको काम जारी राखेको जनाएको छ ।
रुख काट्ने अनुमति पनि नपाइएको र रुख भएको ठाउँ छाडेर सडक निर्माण गर्ने अवस्था नरहेको भन्दै अनुमतिबिनै आयोजनाले रुख काट्न थालेको थियो तर जिल्ला वन कार्यालयले रुख कटान रोक्का गरेको छ ।
संघीय आयोजना कार्यान्वयन इकाइका इन्जिनियर रबिन बस्नेतले रुख भएको स्थानमा रुख परिपरि केही ठाउँ छाडेर अन्यत्र कालोपत्रे गरिने बताए ।
रिङ्गरोडअन्तर्गत विभिन्न ठाउँमा साढे १५ किलोमिटर सडकमा कालोपत्रेका लागि गिटी बिच्छ्याएर रोलिङ्ग गर्ने कार्य यसअघि नै सकिएको छ ।









प्रतिक्रिया दिनुहोस्