Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


सरकारी बैंकबाट कारोबार गर्न सांसदहरुको माग, पूर्वअर्थमन्त्री भन्छन्– नीजि बैंक पनि असुरक्षित हुँदैनन्


0
Shares

काठमाडौं, माघ १३ । केही सांसदले विदेशी लगानीको बैंकबाट आर्थिक कारोबार नगरी सरकारी बैंकबाट गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

विदेशी लगानी भएको बैंकबाट आर्थिक कारोबार गर्दा राज्यका जिम्मेवार व्यक्तिका गोप्य सूचना बाहिरिन सहयोग पुग्ने जिकिर उनीहरुको छ । तर, कुनै पनि वाणिज्य बैंकबाट हुने कारोबार सुरक्षित हुने पूर्व अर्थमन्त्री बताउँछन् । 

गत पुस २९ गतेको संसद बैंठकमा सांसदहरु शशी श्रेष्ठ, विना श्रेष्ठ र सुरेशकुमार राईले निजी र विदेशी लगानी भएको बैंकबाट नभई सरकारी स्वामित्वको वाणिज्य बैंकबाट कारोबार गर्न माग गरेका थिए । विदेशी लगानी भएको बैंकबाट आर्थिक कारोबार गर्दा राज्यका जिम्मेवार व्यक्तिका गोप्य सूचना बाहिरिन सहयोग पुग्ने जिकिर उनीहरुको थियो ।

संघीय संसद सचिवालयले सांसद तथा कर्मचारीलाई दिने तलब तथा भत्ता भारतीय पञ्जाव नेशनल बैंकको पनि लगानी रहेको एभरेष्ट बैंकमार्फत भुक्तानी हुने गरेको छ ।

सरकारी कारोबार सरकारी बैंकबाट गर्नुपर्छ भन्ने मान्यता सही भए पनि निजी वाणिज्य बैंकबाट कारोबार गर्दा सूचना बाहिरिने र असुरक्षित हुन्छ भन्नु गलत रहेको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे बताउँछन् ।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि निजी बैंकबाट कारोबार गर्दा असुरक्षित हुन्छ भन्ने सांच सही नभएको बताउँछन् । सरकारी कारोबार सरकारी बैंकबाट गर्ने वा नगर्ने भन्ने सरकारमा भर पर्छ तर, सरकारी बैंकलाई बढी सुरक्षित देखाउने नाममा निजी क्षेत्रका बैंकहरुलाई हतोत्साही बनाउने काम भने कसैले पनि गर्न खोज्नु जायज हुँदैन ।