
अन्य हेपाटाइटिसभन्दा–‘डी’बाट बढी संक्रमित भइरहेको तर यसबारे धेरैले ध्यान नदिएकाले यसबारेको विषयमा बहस गर्नुपर्ने समय आएको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् ।
उनले भने, ‘पछिल्लो समय हरेक दिनजसो टेकु अस्पतालमा हेपाटाइटिस–‘डी’का संक्रमित आउने गरेका छन् । यौनसम्पर्क र रगतका माध्यमबाट हुने यस रोबारे धेरै व्यक्ति अनभिज्ञ भएकाले उपचारमा पनि निकै कम आउने गरेका छन् ।’
शुक्रबार (आज) विश्व हेपाटाइटिस दिवस मनाइँदैछ ।
सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने व्यक्तिले रगत जाँच गराउँदा ‘डी’को संक्रमण भेटिएको डा.पुनको भनाई छ । सुत्केरीको रगत जाँच गर्दा र रक्तदानलगायत नर्स पनि यसको उच्च जोखिममा रहेको छ ।
सामान्यतया वाकवाक लाग्ने, खानमा रुचि नहुने, आँखा र पिसाब पहेँलो हुने, दाँया कोखामा अप्ठेरो हुने लगायत लक्षण देखापर्दा धेरैले ग्यास्ट्रिकको शंका गर्ने भएकाले पनि यसको उपचारमा नजाने चिकित्सक बताउँछन् ।
‘ग्याष्ट्रो एण्ड हेपाटोलोजी कन्सल्टयान्ट फिजिसियन’ प्रा.डा.विधाननिधि पौडेलले हेपाटाइटिस–‘डी’ अपूर्ण ‘आरएनए’ नामक भाइरसबाट सर्ने हेपाटाइटिस भएको बताउँदै भने, ‘यो हेपाटाइटिस–‘बी’सँगै वा ‘बी’ भइसकेकालाई मात्र संक्रमण गर्छ ।
यी दुवै हेपाटाइटिस शरीरमा मिल्दा खतरा हुन्छ, यसले छिटो ‘लिभर सिरोसिस’ र क्यान्सर हुने सम्भावनालाई बढाउँछ, कतिपय अवस्थामा हेपाटाइटिस–‘बी’ को उपचार हुँदा यसको पनि उपचार हुन्छ ।’ यदि छिटो ‘लिभर सिरोसिस’ र क्यान्सर भएमा कलेजो प्रत्यारोपणको विकल्प नहुने चिकित्सकको भनाई छ ।
यो रोगबाट बच्न यसको खोप लगाउनुपर्छ ।
हेपाटाइटिस–‘ए’ र ‘इ’
विश्वमा मुख्य पाँच हेपाटाइटिस देखिएका छन्– हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ । यी सबै ‘हेपाटोट्रोपिक’ नामक भाइरसबाट लाग्छ । यो भाइरसको संक्रमणबाट हुने कलेजोको रोग हो । रोग लागेपछि कलेजो सुन्निने, फुल्ने, पछि गएर खुम्चिने र पाचन प्रणालीबाट कलेजोमा जाने रक्तनली थुनिने हुन्छ ।
डा.पुनले गर्मीमा देखिने हेपाटाइटिस–‘इ’अर्थात् भाइरस हेपाटाइटिसले गर्भवतीलाई बढी असर गर्ने बताउँछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवतीको मृत्युमध्येको ३० प्रतिशत हेपाटाइटिस–‘इ’ अर्थात् भाइरस हेपाटाइटिसको कारणबाट हुने गरेको छ ।
हेपाटाइटिस–‘ए’ र ‘इ’ प्रदूषित पानी, संक्रमित मानिसको दिसा, राम्ररी नपाकेका खानेकुरा खाँदा र र्यालबाट पनि सर्न सक्छ । वर्षातको पानी प्रयोग गर्दा यो रोग लाग्ने सम्भावना रहन्छ । यो विद्यालयका बच्चा र भीडभाड हुने स्थानमा बढी देखिन्छ । एउटै शौचालय प्रयोग गर्दा, सरसफाइ नहुँदा र दूषित पानी प्रयोग गर्दा रोग फैलन सक्ने सम्भावना रहन्छ ।
काठमाडौं जस्तो शहरमा पानी र ढलको पाइप एकै स्थानमा हुँदा रोगको महामारी फैलन सक्ने खतरा सधैँ रहेको चिकित्सकले बताउँदै आएका छन्
डा.पौडेलले भने, ‘हेपाटाइटिस–‘ए’ र ‘इ’ गर्भवतीलाई भएको खण्डमा कलेजो फेल भई गर्भ तुहिने र मृत्यु हुने खतरा बढी हुन्छ, विश्वमा हेपाटाइटिस–‘ए’ को सुई भएपनि नेपालमा उपलब्ध छैन, ‘इ’ को सुई आजसम्म नबनेकाले रोग लाग्ने कारणबाट बच्नु नै उत्तम उपाय हो ।’ रासस
प्रतिक्रिया दिनुहोस्