काठमाडौं, माघ १२ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रीलाई टिकटमा छुट दिने भएको छ ।
निगमले काठमाडौं–बैंकक–काठमाडौं यात्रामा जाने यात्रीलाई ‘वान टिकट फ्री इन ग्रुप फाइप’ योजनाअन्तर्गत् पाँचजनाको समूहमा टिकट खरिदमा एकजनालाई टिकट निःशुल्क गराउने भएको हो ।
आगामी तीन महिना (जनवरी, फेब्रुअरी र मार्च)सम्म यो योजना लागू हुने निगमले जनाएको छ ।
पर्यटन प्रवद्र्धन तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्तो छुट योजना ल्याइएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।
उनकाअनुसार आवश्यकताका आधारमा अन्य गन्तव्यमा पनि यो योजना विस्तार गरने लक्ष्य छ ।
‘अहिले बैंकक क्षेत्रमा कम व्यापार हुने भएकाले व्यापार बढाउने नै मुख्य उद्देश्य हो । यो समयमा उक्त क्षेत्रबाट कम पर्यटक आउने भएकाले पनि यस्तो योजना ल्याएका हौं । अन्य गन्तव्यमा पनि लैजाने योजना छ’–उनले भने ।
काठमाडौं–बैंकक उडानका लागि टिकटमा हरेक यात्रीले मूल्य अभिवृद्धि करबाहेक रु १२ हजार तिर्नुपर्छ । निगमले यो गन्तव्यमा सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्दै आएको छ ।
निगमले अहिले विभिन्न ८ गन्तव्यमा भारतको नयाँदिल्ली, बैंगलोर, मुम्बई, मलेसिया, सिंगापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ ।
निकट भविष्यमै जापान, चीन, दक्षिण कोरिया र साउदी अरबमा सीधा उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको छ ।
निगमसँग हाल दुई अन्तर्राष्ट्रिय ‘वाइडबडी’ ए–३३० जहाज, दुई ‘न्यारोबडी’ ए–३२० जहाज र एक ‘बोइङ’ ७५७ जहाज छन् । रासस









प्रतिक्रिया दिनुहोस्