
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा पछिल्लो समय विभिन्न रोगको उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरण जडान गरी सेवा सुचारु गरेपछि अस्पतालमा आउने बिरामीहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
विगत केहि वर्षयता अस्पतालमा उपचारका लागि पर्याप्त उपकरण तथा सेवा सुविधा नहुँदा डाक्टर नै आउन नमान्ने र आईहाले पनि ५/६ महिना बसेर जाने प्रवृति थियो । तर पछिल्लो समय उपचारका लागि केहि अत्याधुनिक उपकरण अस्पतालमा जडान गरिएपछि आफुहरुलाई बिरामीको उपचारमा सहज भएको र काम गर्न थप उत्साह थपिएको अर्थोपेडिक सर्जन डा. रोजन ताम्राकारले बताए ।
अस्पताललाई आधुनिकीकरण गरी सेवालाई छिटोछरितो र विश्वसनीय बनाउनका लागि गत हप्तामात्रै एक करोड १० लाखको लागतमा ल्याइएका उपकरण जडान गरी उपचार कार्य सुरु गरिएको हो । डिजिटल एक्सरे, सी–आर्म, फुटलर काउन्टर मेसिन, डेन्टल सेट अफ चेयर लगायतका दुई दर्जन उपकरण जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष भोजराज बोहराले बताए ।
विगतमा अस्पताललाई आवश्यक उपकरणको अभावमा सेवा सञ्चालनमा कठिनाइ रहेको र उपचार गर्न समेत जोखिम उठाउनु पर्ने अवस्थामा उपकरण जडानपछि अस्पतालले दिने सेवासुविधामा सहजता हुनुका साथै बिरामीहरुको स्वास्थ्य रिपोर्टसमेत छिटो छरितो भईरहेको छ । अस्पतालमा अर्थोलोजिष्ट, गाईनोलोजिष्ट लगायतका विशेषज्ञ डाक्टरहरु समेत आएपछि हाडजोर्नी तथा प्रसुति शल्यक्रिया सेवा पनि सुचारु भएको छ । यी सेवा विगत १ वर्षदेखि ठप्प थिए ।
अहिले सुरक्षित प्रसुति गराउने महिलाहरुको संख्यासमेत ह्वात्तै बढेको प्रसुति विभाग ईन्चार्ज ईन्द्रा श्रेष्ठको भनाइ छ ।
उपकरण जडान गरिए पनि सघन उपचार कक्षको सेवा भने सेवाग्राहीले पूर्ण रुपमा पाउन सकेका छैनन् । विशेषज्ञ चिकित्सक र सघन कक्ष सञ्चालन गर्ने जनशक्तिको अभावमा सघन कक्षको सेवा प्रभावकारी रुपमा दिन नसकेको अस्पताल प्रशासनले जनाएको छ । चाँडै सघन कक्ष सञ्चालनका लागि एक फिजिसियन, चार मेडिकल अफिसर र ६ जना दक्ष तालिम प्राप्त नर्स लगायतका जनशक्ति माग गरी सेवा सुचारु गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्