
काठमाडौं । अमेरिकामा संघीय सरकारी कार्यालयहरु आंशिक बन्द भैरंहदा यसको असर राष्ट्रपतिले संसदको संयुक्त सदनलाई वार्षिक रुपमा गर्ने सम्बोधनमा पनि परेको छ ।
सम्बोधन लागि सभामुख न्यासी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको निमन्त्रणा नै फिर्ता लिएपछि झन् अन्योल बढेको हो ।
स्टेट अफ युनियनको सम्बोधन अघि सरकारी कार्यालयहरु खुल्नु पर्ने सभामुख पेलोसीको अडान र मेक्सिको सीमामा पर्खाल लगाउन बजेट दिएपछि मात्र आशिंक बन्द कार्यालय खुलाउने ट्रम्पको अडानका कारण अमेरिकी राजनीति अहिले थप अन्यौलपूर्ण अबस्थामा पुगेको छ ।
चुनावी अभियानकै क्रममा मेक्सिकोबाट अवैध आप्रवासी प्रवेश रोक्न सीमामा पर्खाल लगाउने योजना अघि सार्नु भएका राष्ट्रपति ट्रम्प आप्mनो योजनाबाट टसको मस हुने संभावना देखिएको छैन ।
तर ट्रम्पको योजनामा कंग्रेस भने बाधक बनेको छ । छ अर्ब अमेरिकी डलर छुट्याउन नमान्दा यसको असर संघीय कार्यालयहरुमा परेको पनि लामो समय भैसकेको छ ।
संसदबाट बजेट पारित हुन नसक्दा २२ डिसेम्बरबाट संघीय कार्यालयका ८ लाख कर्मचारी तलबविहिन छन् ।
सीमा सुरक्षाको विषयले अमेरिकी इतिहासमा अहिले सबैभन्दा लामो समय संघीय कार्यालय बन्द हुन पुगेका हुन् ।
यसको असर स्टेट राष्ट्रपतिबाट स्टेट अफ युनियनलाई हुने सम्बोधनसम्म तानिएको छ । जसका कारण वार्षिक नीति, कार्यक्रम तथा योजनाहरु नै पछि धकेलिएका छन ।
यो सम्बोधन महत्वका साथ, निर्धारित समय र स्थानमा हुने ट्रम्पको विश्वासमा ठेस लागेको छ ।
सभामुख पेलोसीले बन्द रहेका सरकारी कार्यालय नखुलेसम्म कांग्रेसमा सम्बोधन गर्न नदिने भएपछि ट्रम्पले ह्वाइट हाउस वा अर्को स्थानबाट सम्बोधन गर्न दिइएको सल्लाहलाई भने अस्वीकार गरेका छन् ।
विवादास्पद अभिव्यक्ति र व्यवहारका कारण चर्चामा रहने ट्रम्प यस पटक भने आफ्नै अडानका कारण अप्ठ्यारोमा परेका छन् ।
बन्दको असरमा परेका कार्यालयहरुलाई कोष उपलब्ध गराउन प्रतिनिधिसभाले पारित गरेको विललाई ट्रम्पले समर्थन नगरेसम्म उहांको वार्षिक सम्बोधन आउने संभावना क्षीण् बनेको छ ।
सीमामा पर्खाल लगाउने ट्रम्पको योजनामा विपक्षी डेमोक्र्याट्ससंगै आफ्नै दल रिपब्लिकनका पूरै सांसदहरु पनि सकारात्मक छैनन् । तर ट्रम्पले भने यो बन्दले सुरक्षाको विषयलाई नछोएको दाबी गरेका छन् ।
अमेरिकी संविधान कांग्रेससंग राष्ट्रपति कसरी समय समयमा सम्वादमा रहनु पर्छ भन्ने विषयमा मौन रहेको बताइन्छ ।
अमेरिकी राजनीतिको तेस्रो ठूलो शक्तिशाली पदमा रहेकी सभामुख पेलोसीले सरकारी कार्यालय नखुलेसम्म संयुक्त सदनमा राष्ट्रपतिको सम्बोधन कार्यान्वयन गराउन नसक्ने स्पष्ट पारिसकेका छन् ।
तर स्टेट अफ युनियनमा राष्ट्रपति ट्रम्पको सम्बोधन रोकिनुको असर भने अमेरिकी राजनीति थप अन्यौल बन्नेसंग मात्र नभई आमजीवनमा पनि असर पर्नेछ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्