काठमाडौं, माघ १० । भैरहवास्थित विशेष आर्थिक क्षेत्र ‘सेज’को पूर्वाधार तयार भएको धेरै वर्ष भइसक्दा पनि उद्योग स्थापना हुन सकिरहेका छैनन् । सेज अपेक्षा गरिएअनुसार सन्चालनमा आउन सकेको छैन ।
उद्योगीले आफूहरुको माग सम्बोधन नभएको गुनासो गरिरहेका छन् भने सरकारले माग पूरा गर्ने बताइरहेको छ ।
सेज सन्चालनमा आउन नसक्नुमा समन्वयको अभाव रहेको जानकार बताउँछन् ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्मा सरकारी निकायबीच समन्वय हुन नसक्दा सेज सन्चालनमा आउन नसकेको बताउँछन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन), समुन्नति र युकेएडले संयुक्तरुपमा बिहीबार राजधानीमा गरेको विशेष आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रममा उनले विशेष आर्थिक क्षेत्र प्राधिकरणको पनि स्तरोन्नति गर्न आवश्यक रहेको बताए ।
उनले भारत र चीनसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता नभएका कारण पनि सेज सन्चालनमा कठिनाइ आएको हुनसक्ने बताए ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भने सरकार सेजमा उद्योग स्थापनाका लागि सक्दो सहयोग गर्न तयार रहेको बताए ।
२० वर्षअघि सेज स्थापना गर्न कार्य अघि बढेपनि सन् २०१४ मा आएरमात्र पूर्वाधार बनेको थियो ।
पूर्वाधार बनेको दुई वर्षपछि यससम्बन्धी ऐन ल्याएपनि सेज अझै सन्चालनमा आउन सकेको छैन ।
विश्वका १३२ देशमा करिब ४ हजार सेज सन्चालनमा रहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्