काठमाडौं, माघ ९ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न टुक्राएर टेन्डर आह्वान गर्ने तयारी गरिएको छ । छोटो प्रक्रियाबाट टेन्डर आह्वान गर्ने तयारी सरकारले गरेको छ ।
इटालीयन ठेकेदार कम्पनी सीएमसीले काम छाडेर गएपछि सरकारले उक्त कम्पनीसँग भएको ठेक्का तोड्न सूचना जारी गरिसकेको छ ।
यही माघ २३ गतेसम्म पनि उक्त कम्पनी काम गर्न नआएमा स्वतः ठेक्का तोडिनेछ ।
आयोजनाको दातृनिकाय एसियाली विकास बैंक पनि आयोजनाको बाँकी काम सम्पन्न गर्न टुक्राएर ठेक्का दिने पक्षमा सकारात्मक रहेको मेलम्ची खानेपानी विकास समिति स्रोतले जनाएको छ ।
यसबीचमा सरकारले आयोजनाको बाँकी काम नेपाली सेनालाई दिने विषयमा पनि छलफल गरेको थियो । तर, हाललाई त्यो विषयलाई थाती नै राखिएको स्रोतको भनाइ छ ।
सम्भवतः एडीबी नमानेका कारण सेनालाई आयोजनाको बाँकी काम दिने विषय रोकिएको स्रोतको भनाइ छ ।
केही दिनअघि नेपाली अधिकारीहरुले एसियाली विकास बैंकसँग आयोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरेका थिए ।
बोर्डका उपकार्यकारी निर्देशक रामप्रसाद खरेलले सीएमसीलाई दिएको समयसीमा बाँकी नै रहेको र त्यसपछिमात्रै आयोजनालाई कसरी अघि बढाउने विषयमा टुंगो लाग्ने बताए ।









प्रतिक्रिया दिनुहोस्