काठमाडौं, माघ ७ । लामो राजनीतिक संक्रमणमा रहेको नेपालमा अहिले संक्रमणकाल लगभग सकिएको छ ।
संविधानबमोजिम तीनै तहका निर्वाचन भएर दुईतिहाइभन्दा बढीको बलियो सरकार छ ।
यो सरकारले लिएको मुख्य नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । यो नारालाई सफल पार्न प्रशस्त लगानी चाहिएको छ ।
यसका लागि ‘डाभोस’ सम्मेलन एक ‘प्लेटफर्म’ हुनसक्छ । तर, शर्त छ, नेपाललाई विश्वास गर्ने वातावरण हुनुपर्यो ।
प्रधानमन्त्री केपी ओली डाभोस सम्मेलनमा भाग लिन स्वीट्जरल्यान्ड उड्ने पूर्वसन्ध्यामा ‘दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’को सहकार्यमा खोज पत्रकारिता केन्द्रले ‘नेपालिक्स’ नाम दिइएको एक प्रतिवेदन सार्वजनिक गर्यो ।
प्रतिवेनदनकाअनुसार ५५ जना नेपालीको विदेशमा लगानी रहेको छ भने स्वीस बैंकमा नेपालीको ५२ अर्बभन्दा बढी रुपैयाँ जम्मा रहेको छ ।
प्रतिवेदनले नेपाली रुपैयाँ अवैधरुपमा बाहिर गएको तथा ‘ट्याक्स हेवेन’ मुलुकमा रकम जम्मा गरी अवैध धन नेपाल भित्र्याउने काम भइरहेको उजागर गरेको छ ।
प्रतिवेदनले यस्तो कार्यमा संलग्न भएको भनेर सार्वजनिक गरेका नामहरुमा नेपालमा ठूला लगानी गरेका व्यक्तिहरु छन् ।
अवैध धन विदेशमा लगेको तथा ट्याक्स हेवेन मुलुकमा राखेर नेपाल ल्याउन खोजेको भनेर विगतमा पनि केही व्यक्तिहरुका रकम सरकारले रोकेर राखेको छ ।
नेपालिक्सले सार्वजनिक गरेको तथ्यांकमा सरकारले ध्यानकर्षण भएको जनाएको छ ।
यस्तो विषयमा गम्भीरतापूर्वक छानबिन गरेर दोषीलाई कारबाही नगर्ने हो भने नेपाल अवैध धन ओसार–पसार हुने तथा अवैध धन लगानी हुने देशकारुपमा विश्व माझ चिनिनेछ । किनकि, ‘मनि लाउन्डरिङ’मा अहिले विश्वको गम्भीर चासो रहेको वरिष्ठ पत्रकार किरण नेपालको बुझाइ छ ।
यस्तो अवस्थामा आर्थिक समृद्धिको नारा बोकेको नेपालमा आवश्यक पर्ने बढीभन्दा बढी लगानी प्रभावित हुनसक्छ ।
कालोधनको चलखेल हुने देशकारुपमा नेपाल चिनिए विदेशी लगानी भित्रिन गाह्रोपर्ने वरिष्ठ अधिवक्ता गान्धी पण्डितको तर्क छ ।
पहिला पनि नेपाल ‘फाइनान्सियल एक्सन टाक्स फोर्स’को कालोसूचीमा पर्न मुस्किललेमात्र जोेएिको थियो ।
विदेशमा लगानीको मुद्दाका साथसाथै ‘वाइडबडी’ जहाजजस्ता भ्रष्टाचारका ठूला प्रकरण तथा निर्मला पन्त हत्याकान्डजस्ता विषयमा सरकारले गम्भीरतापूर्वक छानबिन गरेर कानुनी शासनको प्रत्याभूति दिलाउन नसकेमा कसैलेपनि नेपाललाई विश्वास गर्ने छैन ।
विश्व मञ्चमा प्रतिबद्धता जनाइरहँदा स्वदेशमा पनि काम गरेर देखाउन सकेमात्र लगानीको लागि वातावरण बन्नेछ ।









प्रतिक्रिया दिनुहोस्