सञ्चिता घिमिरे र सुशील दर्नाल (रासस)
ललितपुर, माघ ७ । परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुवै नबुझिने रहेछ र उनी अनुमतिपत्र नलिइ फर्किए ।
दुईपटकसम्म चालक अनुमतिपत्र लिन एकान्तकुना पुग्दा उनलाई चालक अनुमतिपत्र छापिन नै बाँकी रहेको त्यहाँ कार्यरत् कर्मचारीले बताएका थिए ।
तेस्रोपटकमा पाएको चालक अनुमतिपत्र पनि अस्पस्ट भएपछि उनी निराश बनेका छन् ।
समीरजस्तै धेरै सेवाग्राहीको फोटो धमिलो वा नबुझ्ने भएकाले उनीहरु रित्तै हात फर्किरहेका छन् । कतिपय सेवाग्राहीको नाम केरिएर प्रस्ट बुझिने छैन ।
यातायात व्यवस्था कार्यालय, प्रदेश नम्बर–३ कार्यालयमा आएका धेरै अनुमतिपत्रमा यस्ता समस्या देखिरहेको हो ।
पछिल्लो एक महिनामा फोटो हेरेर व्यक्ति चिन्न नसकिनेखालको चालक अनुमतिपत्र आइरहेको कार्यालयका प्रमुख चेतप्रसाद उप्रेतीले बताए ।
फोटो प्रस्ट नबुझिनेखालको अनुमतिपत्र सेवाग्राहीलाई दिँदा पनि त्यसले थप समस्या निम्ताउने भन्दै कार्यालयले अनुमतिपत्र नै नदिएको हो ।
उनले भने–‘अनुमतिपत्रमा भएका विवरण र फोटो नै बुुझिने नभएपछि त्यसलाई दिनुको कुनै अर्थ हुँदैन ।’
कार्यालयबाट परीक्षा पास गरेका झन्डै तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाइसकेका छैनन् ।
परीक्षा पास गरेर राजश्व तिरेको १३/१४ महिना बित्दासमेत यातायात व्यवस्था विभागबाट छापिएर नआउँदा सेवाग्राहीले अनुमतिपत्र नपाएका हुन् ।
एकातिर छापिन नै एक वर्ष बढी लाग्ने र ढिलो आउँदा पनि विभिन्न समस्या देखिँदा सेवाग्राही कार्यालयमा आएर कार्यरत् कर्मचारीसँग रिसाउँछन् ।
उनले भने–‘दैनिक अरु कामसँगै यहाँ आएका सेवाग्राहीलाई सम्झाएर पठाउनु पनि हाम्रो काम भएको छ ।’
कार्यालयबाट सेवा सुरु भएदेखि अहिलेसम्म झन्डै सात लाखले ‘स्मार्ट अनुमतिपत्र’का लागि राजश्व तिरिसकेका छन् ।
तीमध्ये चार लाख १० हजारसम्मको वितरण भइसकेको छ । क्रमसंख्या तीन लाख ९०/९१ हजारमा पर्ने कतिपय सेवाग्राहीलेसमेत पाएका छैनन् ।
यातायात व्यवस्था कार्यालय सेवाग्राहीको भीड हुने कार्यालयमा पर्छ । त्यसमा पनि समयमा सेवा दिन नसकेपछि सेवाग्राहीको भीडभाड सधैं कार्यालयमा हुने गरेको छ ।
एकातिर परीक्षाका लागि आउने सेवाग्राही, राजश्व तिर्न वा नवीकरणका लागि आउने सेवाग्राही र अर्कातिर राजश्व तिरेको लामो समयसम्म पनि अनुमतिपत्र नपाउँदा सेवाग्राही पटक–पटक आउनेका कारण कार्यालय सधैं खचाखच हुने गरेको छ ।
राजश्व तिरेको एक वर्ष नाघ्दासमेत चालक अनुमतिपत्र नआएपछि सेवाग्राहीले राजश्व तिरेको कागजकै भरमा सवारी चलाइरहेका छन् ।
राजश्व तिरेको पातलो कागजमा लेखिएका कुरा मेटिँदा कतिपय सेवाग्राहीले दुई/तीनपटकसम्म त्यसको प्रतिलिपि लिएका छन् । कतिपयले भने राजश्व तिरेको कागजको ‘लेमिनेसन’ गरेरै बोक्न थालेका छन् ।
पहिले एकान्तकुनास्थित कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र बनाउन सुरु भएको थियो । दुई वर्षपहिलेदेखि भने सबै अञ्चल कार्यालयले यो सेवा सुरु गरेका थिए । अहिले अञ्चल कार्यालय प्रदेश मातहतमा गइसकेका छन् ।
कागजमा प्रदेशमा गएपनि काममा संघअन्तर्गत्को विभागले नै अनुमतिपत्रको छपाइ गरिरहेको छ ।
देशभरका सबै कार्यालयबाट परीक्षा उत्तीर्ण सेवाग्राहीको अनुमतिपत्र एकै ठाउँबाट छपाइ हुँदा ढिलाइ भइरहेको हो ।
विभागले पत्र पठाएर चालक अनुमतिपत्रको जिम्मेवारी लिन प्रदेश कार्यालयलाई भन्न थालेको छ ।
यातायात व्यवस्था विभागले भने छिटफुटरुपमामात्रै समस्या देखिएको बताएको छ ।
विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले प्रणालीमा अवरोध आएका कारण ‘स्मार्ट’ चालक अनुमतिपत्रमा केही अस्पस्ट भएको तर अस्प्रस्ट हुँदाहुँदै सेवाग्राहीलाई वितरण नगरिएको उनले जानकारी दिए । प्रणालीमा जुन समस्या देखिएको छ, त्यो छिट्टै सुधार हुने उनको भनाइ छ ।
प्रवक्ता उपाध्यायले दर्ता भएको तर प्रमाण वा तथ्यांक नपुगेको कारणले अनुमतिपत्र क्रमबद्धरुपमा नआएको पनि बताए ।
उनकाअुनसार अहिलेसम्म प्रदेश कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण प्रक्रिया सुरु नभएपनि अब छिट्टै सुरु गर्ने तयारी भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्