डीबी विष्ट
बझाङ, माघ ६ । नीजि क्षेत्रको लगानीमा सुदुरपश्चिम प्रदेश, बझाङ जिल्लास्थित बुंगल नगरपालिकामा निर्माणाधीन कालंगा गाड जलविद्युत आयोजनाको काम अनिश्चितकालका लागि बन्द भएको छ ।
बुंगल नगरपालिकाका–२, गिरौका स्थानीय बासिन्दाले जलविद्युत आयोजनाको काममा अवरोध गरेपछि कालंगा गाड जलविद्युत आयोजनाको काम रोकिएको हो ।
आयोजनाको टनेल निर्माणका क्रममा गाउँका सबै खानेपानीका मुहान र सिंचाई गर्ने मुहानहरु सुकेपछि यहाँका बासिन्दाले जलविद्युत आयोजनाको काममा अवरोध गरेको स्थानीय हिक्मत धामीले बताए । गाउँमा रहेका खानेपानीका मुहान र पानीका कुवा सुक्नुका साथै खेतीयोग्य जमिनमा लाग्ने पानीका सबै मुहान सुकेपछि आफुहरुले खानेपानीको व्यवस्था र सिंचाई कुलोको ब्यवस्था गरिदिनुपर्ने मागसहित आन्दोलित हुनु परेको धामीले बताए ।
संघर्ष समितिका संयोजक गोरख धामीले झण्डै ६० परिवारको खेतीयोग्य जमिनमा सिंचाई गर्ने पानीको मुहान नै सुकेपछि हाल उक्त जमिन बाँझै रहेको बताए ।
आयोजनाले सिंचाई र खानेपानीको व्यवस्था गर्नुपर्ने, स्थानीयलाई पूर्व शर्तअनुसार सेयर सुविधा दिनुपर्ने, वातावरणीय प्रदुषण कम गर्ने उपाय अवलम्बन गर्नुपर्ने, प्रभावित जग्गा धनीलाई मागअनुसार मुआब्जा दिनु पर्ने लगायतका विभिन्न माग राख्दै आफुहरुले आन्दोलन गर्दै आएको संयोजक धामीले बताए ।
आयोजनाका सञ्चालक खगेश्वर बोहराले भने प्रभावित जग्गा धनीलाई सरकारी मूल्यअनुसार मात्र मुआब्जा दिने अधिकार आफूहरुलाई भएको बताएका छन् । मन्त्रिपरिषद्बाट निर्णय गराएरमात्रै मुआब्जा व्यवस्था गर्न सकिने उनको भनाइ छ ।
सिंचाई, खानेपानी र शेयर दिने कुरामा आफूहरु सकारात्मक रहेको उनले बताए । खानेपानीको व्यवस्था एक वर्ष अघि नै ७० लाख खर्च गरेर ७ किमी टाढाबाट खानेपानीको ब्यवस्था गरिसकेको र सिंचाईको पनि सुविधा गर्ने कुरामा आफुहरु तयार रहेको कालंगा हाईड्रो प्रालिका संस्थापक विरेन्द्र मल्लले बताए । स्थानीयले एक रोपनी जग्गाको १५ लाख बराबरको माग गरेका कारण समस्या भएको उनको भनाइ छ ।
स्थानीय बासिन्दाहरुलाई आफुहरुले एक रोपनी बराबर ५० हजारको सेयर दिन तयार रहेको र सिंचाई कुलोको समेत ब्यावस्था गर्न आफु तयार रहे पनि स्थानीय बासिन्दाले नमानेको उनले बताए । काममा अवरोधका कारण दैनिक झण्डै ३० लाख बराबरको घाटा आयोजनाले बेहोर्नु परेको उनको भनाइ छ ।
हाल आयोजनाको झण्डै ४५ प्रतिशत काम सकिएको सञ्चालक खगेश्वर बोहराले बताए । कालंगा हाइड्रोपावरमा माछापुच्छ्रे बैंक, एनएमबी विकास बैंक, सिभिल बैंक र व्यक्तिगत गरी एक हजार तीन सय करोड रुपैयाँ लगानी रहेको छ ।
सन २०२० अथार्त २०७७ असोज ३ गतेभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ ।










प्रतिक्रिया दिनुहोस्