-युवराज गौतम/ईमेज
तस्विरहरुः युवराज
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) आफ्नै सुविधा सम्पन्न भवन(मुख्यालय) निर्माण गर्ने १५ बर्षदेखिको सपना लगभग पूरा गर्ने तरखरमा पुगेको छ ।
विश्वभरका करिब ८० देशमा फैलिएको एनआरएनएनमा आवद्ध ७० हजार बढी सदस्यहरुको मुख्यालय काठमाडौंको बालुवाटारमा निर्माणको लगभग अन्तिम चरणमा पुगेको हो ।
मौलिक र आधुनिकतालाई समिश्रण गरी डिजाइन गरिएको भवन भब्य र आकर्षक देखिएको छ । तर भवनको मापदण्ड, डिजाइन साथै प्राविधिक पक्षमा केही त्रुटीहरु रहेको बुझिएको छ ।

भित्री भागको निर्माण चलिरहेको भवनमा तत्कालका लागि एनआरएनएको सचिवालय संचालन भइरहेको छ । विभिन्न परियोजनाका कामहरु मुख्यालयबाटै भइरहेका छन् ।
तीन रोपनी क्षेत्रफलमा करीब रु २५ करोडको लागतको निर्माण भइरहेको पाँच तले सुविधा सम्पन्न भवन एनआरएनएको मेगा प्रोजेक्ट अन्तर्गत रहेको उपाध्यक्ष कुल आचार्यले जानकारी दिए । भवन निर्माणको सम्पूर्ण काम नवौं विश्व सम्मेलन अघि नै सकिने उपाध्यक्ष आचार्यले बताए ।
एनआरएनका तत्कालीन अध्यक्ष शेष घले र वर्तमान अध्यक्ष भवन भट्टलगायतको सक्रियतामा भवन निर्माण अघि बढेको थियो ।

भवनमा सुविधासम्पन्न कन्फ्रेन्स हल, लाइब्रेरी तथा एनआरएन प्रदेश कार्यालयको सचिवालय राखिने योजना छ । अध्यक्ष भट्ट, संरक्षकहरु डा उपेन्द्र महतो, घले र जीवा लामिछानेले भवनको सचिवालय उद्घाटन गरी झण्डोत्तोलन १० महिना अघि नै गरेका हुन् ।
यसअघि नेपाल उद्योग बाणिज्य महासंघको टेकु स्थित केन्द्रीय कार्यालय भवनमा एनआरएन आइसीसीको केन्द्रिय कार्यालय रहँदै आएको थियो ।
प्रवासी नेपालीहरुबाट चन्दा र आर्थिक संकलन मार्फत करिब १२ करोड ७२ लाख रुपैंयाँ लागतमा जग्गा मात्र खरिद भएको थियो ।
निर्माणधिन भवनको भित्री काम अझै धेरै बाँकी रहेकाले तोकिएको रकम अपुग हुने सचिबालय स्रोतले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्