काठमाडौं, माघ ४ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमन्डपमा सुरु भएको छ ।
एक्स्पोको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा एक्स्पो गरिएको हो ।
भान्छामा विद्युतीय चुलो बल्नुपर्ने र सडकमा विद्युतीय सवारी गुड्नुपर्ने
एक्स्पोको अवलोकन गर्दै उपराष्ट्रपति पुनले सरकार, निजी क्षेत्र तथा विदेशी लगानीकर्ताहरु जलविद्युत् आयोजनामा लगानी गर्न लालायित भएको भन्दै उचित नीति, कानुन र इच्छाशक्तिको खाँचो रहेको बताए ।
अझैपनि मुलुक बिजुलीमा आत्मनिर्भर हुन नसकेको भन्दै उनले सबैभन्दा पहिले ऊर्जामा आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।
भान्छामा ग्यास नभइ विद्युतीय चुलो बल्नुपर्ने र सडकमा विद्युतीय सवारी गुड्नुपर्ने उपराष्ट्रपतिको भनाइ थियो ।
‘निजी क्षेत्रको लगानीलेमात्रै पनि समृद्धिको सपना साकार’
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जलस्रोतमा निजी क्षेत्रको लगानी भित्र्याउन सहज वातवरणको आवश्यक्ता औंल्याउँदै निजी क्षेत्रको लगानीलेमात्रै पनि देशको समृद्धिको सपना साकार पार्नसक्ने दाबी गरे ।
हाइड्रोपावर क्षेत्रमा भ्याट रिफन्डको व्यवस्था नगरिएकोप्रति गुनासो गर्दै उनले ‘चुरोट तथा मदिरा उद्योगहरुले भ्याट रिफन्ड पाउने तर जलविद्युत् परियोजनाले पाउनुपर्दैन ?’ भनी प्रश्न गरे ।
इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाइँले सरकारको १५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यलाई सहयोग गर्ने लक्ष्यका साथ आयोजना गरिएको एक्स्पोले विभिन्न मुलुकका जलविद्युत् क्षेत्रका सरोकारवालालाई एकै छानामुनि भेला गराएको उल्लेख गरे ।
कार्यक्रममा ऊर्जा समस्या समाधानमा रचनात्मक भूमिका निर्वाह गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको थियो ।
सम्मानग्रहण गर्दै घिसिङले विद्युत्को मागलाई ध्यानमा राखेर काम गरिरहेको बताए ।
१०० भन्दा बढी स्टल
जलविद्युत् क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको एक्स्पोको एक लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।
एक्स्पोमा ८५ भन्दा बढी प्रदर्शकहरुले १०० भन्दा बढी स्टलमार्फत् जलविद्युत् क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श दिनेछन् ।
चीन, भारत, अष्ट्रिया, कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायतलगायत मुलुकका जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागी भएका जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्