Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


‘नेपालिक्स’बारे सरकारले छानबिन गर्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, माघ ४ । केही नेपाली उद्योगी, व्यवसायीले गैरकानुनीरुपमा विदेशमा धन राखेको विषयमा सरकारले छानबिन गर्ने जनाएको छ ।

हालै खोज पत्रकारिता केन्द्रले ५५ नेपालीको करिब ५० अर्ब रुपैयाँ स्वीस बैंकमा राखिएको तथ्य सार्वजनिक गरेको थियो ।

सोही विषयमा शुक्रबार संसद बैठकको सुरुमै सांसद खगराज अधिकारीले नेपालिक्सबारे गरेको प्रश्नको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यानाकर्षण भएको बताएका हुन् ।

‘मिडियामा आएका सबै कुरालाई सत्य भन्न मिल्दैन । सबै असत्य पनि होइन’ भन्दै उनले आवश्यक खोज र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने बताए ।

भ्रष्टाचारको उल्मूलन र पारदर्शीताका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

गैरकानुनीरुपमा बाहिर गएर लगानी गर्ने कुरा सह्य नहुने प्रधानमन्त्रीले बताए ।

कारबाही गर्ने विश्वास

खोज पत्रकारिता केन्द्रले भने सरकारले गैरकानुनीरुपमा विदेशमा धन राख्नेलाई कारबाही गर्ने विश्वास व्यक्त गरेको छ ।

केन्द्रका सम्पादक शिव गाउँले अस्वस्थ लगानी भित्र्याएर स्वस्थ लोकतन्त्र निर्माण गर्न नसकिने भन्दै सार्वजनिक जवाफदेहितामा बसिरहने सरकारले कारबाही प्रक्रिया अगाडि बढाउनेमा आफू विश्वस्त रहेको बताउँछन् ।

केन्द्रले प्रतिष्ठित उद्योगी–व्यवसायीदेखि केही नामै नसुनेका व्यक्तिले गैरकानुनीरुपमा स्वीस बैंकमा पैसा जम्मा गरेको र गैरकानुनीरुपमा आर्जित रकम वैदेशिक लगानीकारुपमा नेपाल भित्रिरहेको तथ्य सार्वजनिक गरेको थियो ।