Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


पाटन दरबार क्षेत्रको ५० प्रतिशत पुनःनिर्माण सम्पन्न


0
Shares

दीपक श्रेष्ठ (इमेज)

काठमाडौं, माघ ३ । २०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माण अहिलेपनि जारी छ ।

व्यक्तिका घरहरु निर्माणका लागि सरकारले किस्ताबन्दीमा रकम उपलब्ध गराइरहेको छ ।

यसैगरी, सम्पदा क्षेत्रहरु स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा पुनःनिर्माण भइरहेका छन् ।

यिनैमध्येको पाटन दरबार क्षेत्रको हालसम्ममा ५० प्रतिशत पुनःनिर्माण सम्पन्न भएको छ ।

पाटन दरबार क्षेत्रको पुनःनिर्माणको जिम्मा सरकारले काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई दिएको छ ।

ऐतिहासिक दरबारका साथै मठ–मन्दिर र चोकहरु रहेको पाटन दरबार क्षेत्र पुरातात्विक हिसाबले निकै नै महत्वपूर्ण छ । यसको अवलोकन गर्न दिनहुँ सयौं पर्यटक आउने गर्छन् ।

वि.सं. १९९० सालमा आएको विनाशकारी भूकम्पले ऐतिहासिक र पुरातात्विक महत्व बोकेका दरबार तथा मठ–मन्दिरमा ठूलो क्षति पुगेको थियो ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पले यो क्षेत्रमा फेरि ठूलो क्षति पुर्‍यायो । ललितपुर, मंगलबजारस्थित यो पाटन दरबार क्षेत्रका १९ ओटा देव–देवालयका साथै दरबारमासमेत क्षति पुग्यो ।

भूकम्प सुरक्षा दिवसका अवसरमा दरबार क्षेत्र अवलोकनमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पदा क्षेत्र देशका ऐतिहासिक धरोहर भएको बताउँदै जस्ताको त्यस्तै पुनःनिर्माण गर्ने बताए ।

दरबार क्षेत्रमा रहेको चार नारायण मन्दिर पुनःनिर्माणमा ४ करोड ७४ लाख तथा हरिशंकर मन्दिरमा ५ करोड १८ लाख रुपैयाँ खर्च भएको पुरातत्व विभागले जनाएको छ ।

यसैगरी, मणिमन्डप पुनःनिर्माणमा २ करोड ४१ लाख, विश्वेश्वर मन्दिरमा २ करोड १६ लाख, पाटन कृष्णमन्दिरमा ७६ लाख तथा मन्दिरअगागिको योगनरेन्द्र मल्लको सालिकमा २७ लाख खर्च भएको छ ।

सुन्दरीचोक पुनःनिर्माणमा १ करोड ५८ लाख, तलेजु मन्दिरमा १ करोड ७६ लाख, बहादुर शाहको मूर्तिमा ७५ लाख तथा मूलचोक पुनःनिर्माणका लागि ३४ लाख रुपैयाँ खर्च भएको छ ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरकाअनुसार दरबार क्षेत्रमा क्षति पुगेकामध्ये हालसम्म ५० प्रतिशतभन्दा बढी संरचना पुनःनिर्माण भइसकेका छन् । बाँकी पुनःनिर्माणको काम आउँदो दुई वर्षभित्रमा सक्नेगरी काम भइरहेको उनले बताए ।

पुरातात्विक महत्वका सम्पदा जस्ताको तस्तै पुनःनिर्माण गर्न स्थानीय कालीगढ तथा निर्माण सामग्री नै प्रयोग भइरहेका छन् ।

Skip This