मीरा बस्नेत, भरत केसी र नवीन स्थापित (इमेज)
काठमाडौं, माघ १ । सडकमा कालोपत्रेमाथि नै पुनः कालोपत्रे थप्ने गरिँदा सडक अग्लो हुने समस्या बढेको छ ।
यसले कतिपय बस्ती डुबानमा पर्ने गरेका छन् भने कतिपय सडक बस्तीभन्दामाथि जान थालेका छन् ।
सडक मर्मत–सम्भारको जिम्मेवारी बोकेको निकाय सडक विभाग भने पिच पलाग्ने प्रविधि नहुँदा बाध्य भएर पिचमाथि पिच गर्नुपर्ने अवस्था रहेको स्वीकार गर्दछ ।
नेपालमा कुनैपनि अन्तर्राष्ट्रिय सभा–सम्मलेन हुने अवस्था आउनेबित्तिकै मुख्य–मुख्य क्षेत्रका सडकमा कालोपत्रे थप्ने गरिन्छ ।
तर, त्यस्ता सडकसँगै जोडिएका सडक भने वर्षौंदेखि मर्मत–सम्भार हुन नसकेकोतर्फ कसैको ध्यान गएको पाइँदैन ।
कतिपय सडकमा त पूरै कालोपत्रे नगरी एक लेन कालोपत्रे गर्ने र अर्को लेन त्यत्तिकै छाड्ने पनि गरिन्छ । यसबाट हुने अप्ठ्यारोतिर पनि सरोकारवालाले ध्यान दिएको पाइँदैन ।
यसरी पिचमाथि पिच थपिरहँदा सडकको उचाइ पनि बढिरहेको छ ।
सडक विभागले सडकका खाल्डाखुल्डी पुर्ने काम वर्षमा तीनपटकसम्म हुने गरेको जनाएको छ ।
त्यसैगरी, आवधिक मर्मत–सम्भार भनेर विभागले पाँचदेखि सात वर्षकोबीचमा सडकको मर्मत गर्ने गरेको प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।
कुनै–कुनै सडक सुरुदेखि नै मर्मत–सम्भार गर्नुपर्ने हुन्छ भने कुनै एक तह पिचमात्र थपे पनि बलियो हुने विभागको भनाइ छ ।
सडकमा सर्वसाधारणले नदेख्नेखालका स–साना खाल्डाखुल्डी हुने र त्यस्ता खाल्डाखुल्डीबाट पानी छिरेर सडकको भारबहन क्षमता कम हुने भएकाले हरेक पाँचदेखि सात वर्षकोबीचमा पिच थप्ने गरिएको पनि विभागको भनाइ छ ।
पिचमाथि पिच गर्दा सडकको उचाइ बढ्दै जाने समस्या आउन नदिन पुरानो पिच पगालेर नयाँ पिच गर्ने प्रविधि ल्याउने योजनामा विभाग रहेको छ ।
विभागकाअनुसार सडक मर्मत–सम्भारका लागि वर्षेनि १६ अर्ब रुपैयाँको हाराहारीमा बजेट आवश्यक पर्दछ । तर, सरकारले पाँच अर्बमात्रै छुट्टयाउने गरेको छ ।
आवश्यक बजेट नपाउँदा गुणस्तरीय काम भने हुन नसकेको विभागको भनाइ छ ।
उपत्यकाभित्रै वर्षौंदेखि सडक कालोपत्रे हुन नसकेको प्रशस्तै उदाहरण छन् । तर, कतिपय स्थानमा पिचमाथि पिच थोपरेर सडकलाई अनावश्यक अग्लो बनाउने गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्