काठमाडौं, पुस ३० । मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गन्डकी’ भोलि (मंगलबार) नेपाल ल्याइने भएको छ ।
निगमको इन्जिनियरिङ विभागले कलसाइन ‘नाइनएन एसीबी ७५७’ बोइङको थर्मल ब्ल्यांकेटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर पठाएको थियो ।
मर्मतकाक्रममा सी–डक्टमा पनि समस्या आएपछि मर्मतका लागि थप समय लागेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।
उनकाअनुसार बोइङ ल्याउन चालकदलका सदस्य (क्रू मेम्बर) हिजो (आइतबार) मलेसिया गएका छन् ।
अमेरिकाबाट सिपिङमार्फत् सी–डक्ट ल्याएर जडान गर्दा फिट नभएपछि गत साता मलेसियामा पुनः अर्को सी–डक्ट ल्याएर फिट गरिएको थियो ।
‘बोइङको पूरै मर्मत भइसकेको छ । सी–डक्ट पनि परिवर्तन गर्नुपर्ने भएकाले मर्मतका लागि बढी समय लागेको हो । बोइङ भोलि नेपाल फर्किंदैछ’–सहायक प्रवक्ता कोइरालाले भने ।
निगमले उक्त बोइङ बिक्री गर्ने तयारी गरेको छ । बिक्री नभइन्जेल उडान गर्ने योजना बनाएको छ ।
जहाज बिक्रीका लागि निगमले मूल्य निर्धारण गरी कागजात मन्त्रालय पठाएको छ ।
‘वाइडबडी’ विमान खरिद प्रकरणको विषयले जहाज बिक्रीमा पनि कठिनाइ भएको निगमका अधिकारी बताउँछन् ।
निगमका निर्देशक रवीन्द्र श्रेष्ठले बोइङ बिक्रीका लागि मूल्य निर्धारण भइसकेको र सैद्धान्तिक सहमतिका लागि मन्त्रालय पठाइएको जानकारी दिए ।
तर, वाइडबडीको विवादित विषयले अब उक्त काममा पनि व्यवधान खडा भएको उनको भनाइ छ ।
‘दुई महिनादेखि बोइङ ममर्तका लागि मलेसियामा छ । बिक्रीका लागि आर्थिक मूल्यांकन भइसकेको छ । ‘भ्यालुएसन’ भइसक्यो । यो पनि ‘कन्डिसनल’ छ । सात करोड ६० लाख डलर मूल्य पुग्छ’–निर्देशक श्रेष्ठले भने ।
सानो वायुसेवा कम्पनीले वाइडबडी, बोइङजस्ता थरिथरीका जहाज राख्दा प्राविधिक तथा व्यवस्थापकीय जटिलता हुने र सबैको अलग–अलग इन्जिनियर पाइलटको व्यवस्था गर्नुपर्ने भएकाले बोइङ बिक्री गर्न लागिएको निगमको भनाइ छ ।
निगमले बोइङ बिक्रीका लागि आर्थिक मूल्यांकन गर्न दुई महिनाअघि स्वीट्जरल्यान्डको फिन्टेक कम्पनीलाई परामर्शदाता नियुक्त गरेको थियो ।
निगमले सन् १९८७ सेप्टेम्बर १९ तारिखमा ‘कर्णाली’ खरिद गरेको थियो भने दोस्रो बोइङ ‘गन्डकी’ सन् १९८८ सेप्टेम्बर १ तारिखमा ल्याएको थियो ।
कलसाइन ‘नाइनएन एसीए ७५७’ बोइङ कर्णालीलाई निगमले बीबी एअरलाई एक वर्षअघि बिक्री गरिसकेको छ ।
हाल निगमका दुईओटा ‘न्यारोबडी’ र दुईओटा वाइडबडी जहाजले भारतको नयाँदिल्ली, बैंगलोर, मुम्बई, मलेसिया, सिंगापुर, बैंकक र कतारमा उडान भर्दै आएका छन् । रासस









प्रतिक्रिया दिनुहोस्