१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


‘निर्वाचनको सम्पूर्ण तयारी पूरा’, पाँच दिनभित्रै सबै नतिजा सार्वजनिक गर्ने सोच


0
Shares

आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरणकार्य उत्साहका साथ भइरहेको, मतदातालाई सहीरुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्द्रमा चलिरहेको तथा निर्वाचनको मौनअवधिसमेत शान्तिपूर्वक भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

तेस्रो चरणमा प्रदेश नम्बर–२ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । उक्त निर्वाचनका लागि ती जिल्लामा तीन हजार ५७७ मतदान केन्द्र कायम गरिएको छ ।

प्रदेश नम्बर–२ का १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि २६ लाख ६४ हजार ९५० जनालाई मतदान गर्ने अधिकार छ ।

विगतका निर्वाचनमा राष्ट्रिय औसत बदर मतभन्दा प्रदेश नम्बर–२ का जिल्लामा धेरै मत बदर हुने गरेको तथ्यांकका आधारमा आयोगले यसपटकको निर्वाचनमा मतदाता शिक्षामा बढी जोड दिँदै आएको छ ।

त्यस प्रदेशका स्थानीय तहका विभिन्न पदका लागि ३७ हजारभन्दा बढी उम्मेदवारी परेको छ ।

बदर मतसंख्या घटाउन प्रत्येक मतदान केन्द्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ता र कर्मचारीले मतदाता परिचयपत्र लिन आउने मतदातालाई सहीरुपमा मत संकेत गर्न सिकाइरहेको आयोगले जनाएको छ ।

त्यसका लागि मतदाता स्वयं नै मतदान केन्द्रमा उपस्थित भइ मतसंकेत गर्ने जानकारी लिने तथा परिचयपत्र बुझ्ने व्यवस्था मिलाएको प्रवक्ता ढकालले जानकारी दिए ।

अधिकांश मतदान केन्द्रमा मतदाता परिचयपत्र लिन आउने र सहीरुपमा मतसंकेत गर्न सिक्ने मतदाताको भीड लागेको आयोगले जनाएको छ ।

स्थानीय भाषामा स्थानीय एफएम रेडियोमार्फत् निर्वाचनको प्रचार–प्रसार गर्ने तथा गैरसरकारी संघसंस्था र राजनीतिक दलका युवा संगठनलाई पनि मतदाता शिक्षामा सहयोग गर्न आयोगले अपिल गर्दै आएको छ । सडकनाटकमार्फत् पनि मतदाता शिक्षा प्रदान गरिएको छ ।

त्यस्तै, अघिल्ला निर्वाचनको अनुभवका आधारमा तेस्रो चरणको निर्वाचनको मतगणनालाई चुस्त र व्यवस्थित तुल्याउने कार्ययोजना पनि आयोगले बनाएको छ ।

मतगणनाका लागि आवश्यकताअनुसार १२ टोलीसम्म गठन गर्ने र भरसक पाँच दिनभित्रै सबै नतिजा सार्वजनिक गर्ने सोच अघि बढाएको छ ।

त्यसका लागि आवश्यक मतगणनास्थलको व्यवस्था गर्न र प्रत्येक मतदाताको मतको पूर्णसुरक्षा हुनेगरी सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिइसकेको छ । रासस