३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनमा चुनौती


0
Shares

विनोद सिंह विष्ट

बैतडी, पुस ३० । बैतडीका कुनै पनि स्थानीय तहले फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) निर्माण गरेका छैनन् । 

४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका कुनै पनि स्थानीय तहले फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्न नसकेका हुन् ।  

स्थानीय सरकारले डम्पिङ साइट नबनाउँदा खुला स्थानमा फोहोर फाल्नु परेको छ । जथाभावी फोहोर फालिएका कारण विभिन्न खालका स्वास्थ्य समस्या हुने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

जिल्ला सदरमुकाम क्षेत्रमा समेत डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापन चुनौती बन्दै गएको छ । जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकासँग पनि डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापनमा समस्या देखिएको छ । २०५४ सालमा स्थापना भएको नगरपालिकाले विभिन्न ठाउँमा अस्थायी रुपमा फोहर व्यवस्थापन गर्दै आएको छ । 

केही बर्षसम्म सडक छेउमै फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाले जनप्रतिनिधि आएपछि वडा नं ६ को आमपिपलमा अस्थायी रुपमा फोहर व्यवस्थापन गरिरहेको छ । डम्पिङ साइटको लागि जमीन खोज्न थालेको बर्षौं भए पनि उपयुक्त जमीन नमिलेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको क्षेत्र विस्तार भएकाले सबै वडाको फोहर व्यवस्थापनका लागि पायक पर्ने जमीन खोजी भईरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिईन् । फोहर व्यवस्थापनका लागि नगरपालिकाले शुरुदेखि नै पहल थालेको भए पनि जमीन नपाउँदा समस्या भएको छ । 

यस्तै पाटन नगरपालिकामा पनि फोहर व्यवस्थापनको समस्या देखिएको छ । नगरपालिकाले अहिले घाङल खोलामा अस्थायी रुपमा फोहर व्यवस्थापन गरिरहेको छ ।

राज्यपुर्नसंरचनापछि स्थापना भएका मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकामा पनि डम्पिङ साइटको व्यवस्था छैन । यसका साथै यहाँका गाउँपालिकाले पनि डम्पिङ साइटको व्यवस्थान गर्न सकेका छैनन् । दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा डम्पिङ साइड छैन ।