
रविन भट्टराई/ईमेज
झापा । झापाको चर्चित धार्मिक तथा ऐतिहासिक स्थल किचकवधका महत्वपूर्ण वस्तुहरु जीर्ण बन्दै गएका छन् ।
संरक्षण र व्यवस्थापनमा स्थानीय तहले चासो र महत्व नदिँदा उत्खनन् गरिएका पुरातात्विक सामग्रीहरुको उचित व्यवस्थापन हुन नसकेकोप्रति स्थानीयवासी चिन्तित छन् ।
भद्रपुरदेखि दक्षिणतर्फ रहेको यो पर्यटकिय स्थल भद्रपुर नगरपालिकामा पर्छ ।
धार्मिक र ऐतिहासिक महत्व ठूलो भएपनि यसको संरक्षण र प्रचारप्रसारमा स्थानीय सरकारले वेवास्ता गरिरहेको स्थानीयको आरोप छ ।
यस क्षेत्रमा रहेका स्वस्थानी मन्दिर र शिव मन्दिर संरक्षणको अभावमा अस्तित्व मेटिने अवस्थामा पुगेका छन् । त्यसैगरी भीमसेनको शालीक पनि जीर्ण अवस्थामा उभिएको छ ।
संरक्षण र व्यवस्थापनको पहल कतैतिरबाट नहुँदा यहाँको सौन्दर्य नै क्षयीकरण भइरहेको छ ।
केही समय अघि पुरातत्व विभागले उत्खनन् निस्केका वस्तु २२ सय वर्ष पुराना हुन् भनिए पनि तिनको व्यवस्थापन र प्रसारमा कसैलाई मतलब नभएजस्तै छ ।
यस क्षेत्रको विकासका लािग पाँच वर्ष नै गुरुयोजना बनेको छ तर अहिलेसम्म त्यो काजगमै सीमित छ ।
यता भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवन कुमार श्रेष्ठ भने स्थानीय तहले मात्र यसलाई खासै केही गर्न नसक्ने धारणा राख्छन् ।
यहाँको पोखरीमा नुहाएमा रोगब्याधीबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।
महाभारतकालीन कथाको प्रसंगसँग जोडिएको यस ऐतिहासिक क्षेत्रमा पुरातात्विक वस्तु उत्खनन गर्दा दुइओटा भवनको आकृति फेला परेको थियो ।
त्यस अघिको उत्खनन कार्यबाट सात मिटर अग्लो १ सय २३ मिटर लामो सुरक्षा पर्खाल सहित महत्वपूर्ण पुरातात्विक सामग्रीहरू फेला परेका थिए ।
हुन त स्थानीय तहको एकल प्रयासले मात्रै यस्ता क्षेत्रको विकासमा खासै प्रभावकारी नहोला तर स्थानीय तहले यसको लागि संघ र प्रदेशलाई भने घच्घच्याउन र ध्यानाकर्षण गराउन भने सक्छ ।
प्रतिक्रिया दिनुहोस्