Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


पराजितहरु भन्छन्–‘जितेकालाई सघाउँछौं’ (भिडियो)


0
Shares

नेकपा एमालेको अवस्था खस्किएको देखिएको छ भने नेपाली कांग्रेससहित मधेसकेन्द्रित दलको अवस्था सुदृढ देखिएको हो ।

१८ स्थानीय तहमध्ये १६ ओटाको परिणाम आउँदा कांग्रेसले ८ स्थान जितेर सबैभन्दा ठूलो दल बनेको छ ।

संघीय समाजवादी फोरम नेपाल ३, माओवादी केन्द्र र राजपा नेपाल २÷२ र नेपाल लोकतान्त्रिक फोरमले एक स्थानीय तहमा प्रमुख जितेका छन् ।

राज्यको पुनःसंरचनापछि पहिलोपटक भएको स्थानीय तह निर्वाचनमार्फत् २ नम्बर प्रदेशमा पनि जनप्रतिनिधि चुनिएका हुन् ।

तराईका ८ जिल्लामध्येको एक रौतहटमा यसपटकको परिणाम कांग्रेसको खातामा परेको छ ।

भूगोल र जनसंख्याको हिसाबले सबैभन्दा ठूलो मानिएको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी मेयर पदमा विजयी भए । तीन ठूला दल कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा रहेपनि अन्ततः नेपाली काग्रेसले बाजी मारेको हो ।

निर्वाचन परिणाम स्वीकार्दै तीनै दलका उम्मेदवारले समृद्ध नगर बनाउन प्रतिबद्ध र सहयोग गर्ने वचन दिएका छन् ।

चुनावमा जित्न नसकेपनि एमाले उम्मेदवार उद्धव रेग्मी र माओवादी उम्मेदवार युवराज भट्टराईले विजयी कांग्रेस उम्मेदवार रामचन्द्र चौधरीलाई शुभकामना दिँदै सघाउने वचन दिएका हुन् ।

पराजय स्वीकार गर्दै दुवैले आगामी दिनमा नगरको विकासमा जोडिइरहने प्रतिबद्धता जनाएका छन् ।

चुनावमा हारेपछि कटुता साँध्ने प्रचलन तोड्दै उनीहरुले समृद्ध नगर बनाउन विजयी मेयरलाई सघाउने बताएका हुन् ।

चार महिना ढिला गरी भएको निर्वाचनले जसरी मतदातामा उत्साह थपेको थियो, त्यसरी नै चन्द्रपुर नगरपालिकाको निर्वाचनपछि प्रतिस्पर्धीबीचको सहयोगी भूमिकाले स्थानीयलाई हौसला थपेको छ ।

चुनावमा विजय र पराजय स्वाभाविक हो भन्दै जनताको पक्षमा आफू सदैव रहने माओवादी केन्द्रका उम्मेदवार युवराज भट्टराई बताउँछन् ।

भिडियो हेर्नुहोस्

 

Skip This