Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


स्वास्थ्य सेवामा गरिएको हड्ताल फिर्ता लिन सरकारको आग्रह


0
Shares

फाइल फोटो

सोमबारकोे मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।

सूचना तथा सन्चारमन्त्री बस्नेतका अनुसार चिकित्सक संघले आकस्मिकबाहेकका देशभरका स्वास्थ्य संस्था बन्द गरेको सम्बन्धमा सोमबारको मन्त्रिपरिषद्मा गम्भीर छलफल भएको थियो । साथै, प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट संघको माग टुंग्याइने छ ।

सरकारले यही असोज २ गते चिकित्सकको चरम लापबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेसागत वा व्यावसायिक बीमा र क्षतिपूर्तिलगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो ।

उक्त निर्णय फिर्ता लिनुपर्नेलगायत तीन बुँदे माग राखी यही ६ गते शुक्रबारदेखि संघले देशभर आकस्मिकबाहेकका स्वास्थ्य संस्था बन्द गरेको थियो । रासस