
शंकर खनाल र लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, पुस २७ । आधुनिक नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार देशैभर विविध कार्यक्रम गरी मनाइएको छ ।
सरकारले आजको दिनलाई राष्ट्रिय एकता दिवसको औपचारिकता नदिएपनि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सरकारका मन्त्रीहरु एकता दिवसका कार्यक्रममा सहभागी भए ।
वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरे–टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।
यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकारुपमा मनाइने गरिएकोमा २०६२/२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो ।
तर, जनस्तरमा यो दिवस मनाउनेक्रम भने कायमै छ ।
यस वर्ष पनि जनस्तरबाट भव्यताको साथ यो दिवस मनाइएको हो ।
राष्ट्रिय एकता दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलगेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिन् ।
त्यसैगरी, सरकारका प्रवक्ता सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत विभिन्न राजनीतिक दलका नेताहरुले पनि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए ।
सो अवसरमा सर्वसाधारणले पनि सालिकमा माल्यार्पण गरेका थिए । उनीहरुले पृथ्वीनारायण शाह राष्ट्रिय एकताको प्रतीक भएको भन्दै राज्यले बिर्सन नहुने बताए ।
आधुनिक नेपालको एकीकरण गरी पृथ्वीनारायण शाहले सबै नेपालीमा एकताको भावना जगाएको भन्दै अहिलेपनि सबै नेपालीमा भावनात्मक एकता हुनुपर्ने उनीहरुको भनाइ थियो ।
पृथ्वीनाराण शाहको दिव्योपदेश अहिलेपनि सान्दर्भिक भएकाले त्यसलाई सबै नेपालीले आत्मसाथ गर्नुपर्ने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्