
काठमाडौं, पुस २७ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले नेपाल टेलिभिजन र रेडियो नेपाललाई जनमैत्री र प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले सरकारी सन्चारमाध्यमको लोकप्रियता खस्कँदै गएको भन्दै प्रभावकारी कार्यक्रमहरु उत्पादन गरी जनताले हेर्ने र सुन्नेमात्र होइन, सुसूचित हुनेखालका सामग्री प्रकाशन/प्रसारण गर्नुपर्ने बताएका थिए ।
निजी सन्चारगृहकोे तुलनामा सरकारी सन्चारमाध्यम साधन–स्रोतसम्पन्न भएपनि त्यसको यथोचित प्रयोग हुन नसकेको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका थिए ।
बैठकमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले ती संस्थाका वर्तमान अवस्था र भावी योजनाका विषयमा जानकारी गराएका थिए ।
यातायात व्यवस्था विभागको बेथितिको विषयमा छलफल
यता, शुक्रबारै बसेको संसदको विधायन समिति बैठकमा यातायात व्यवस्था विभागको बेथितिको विषयमा छलपल भएको छ ।
यातायातमा काम गर्ने अधिकांश कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउँदा काममा समस्या भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस्