
काठमाडौं, पुस २७ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहलाई सम्मान गर्दा निरंकुश राजतन्त्रको कुरा नगरेको बताएका छन् ।
शुक्रबार २९७औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतले आयोजना गरेको शोभायात्रा कार्यक्रममा उनले छरिएर रहेको नेपाल एक बनाउने अभियन्ताकारूपमा शाह रहेकाले सरकारले उनको जन्मजयन्तीलाई सम्मान गरेको बताए ।
‘नेपालमा रहेका धर्म, संस्कृति, भाषालाई गोलबद्ध गर्ने काम उहाँले गर्नुभयो’–उनले भने–‘त्यसैले उहाँको सम्झनामा एकीकरण दिवस मनाइएको हो ।’
पृथ्वीनारायण शाहले मुलुकलाई एकताबद्ध नगराएको भए अहिलेजस्तो नेपाली स्वाभिमान, स्वाधीन र स्वतन्त्र नहुने उनको भनाइ थियो ।
रक्षामन्त्री पोखरेलले कुनै सिद्धान्तमा नभइ उनले गरेको कामलाई सम्मान गर्न दिवस मनाइएको बताए ।
उनले पृथ्वीनारायण शाहले एकीकृत गरेको समाजलाई अहिले विभिन्न तत्वले भड्काउन खोजेकाले त्यस्तालाई परास्त गर्नुपर्ने धारणा राखे ।
शोभायात्रामा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतको सहभागिता थियो ।
शोभायात्रा कमलादी, रत्नपार्क भद्रकाली हुँदै सिंहदरबार आएर समापन भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्