३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


चमेलिया नदीमाथिको पुल जीर्ण बन्दै


0
Shares

बैतडी, पुस २७ । क्षमताभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन गरिँदा बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमाथिको मुख्य मोटरेबल पक्की पुल जीर्ण बन्दै गएको छ ।

आर्थिक वर्ष २०५९/६० मा बनेको यो पुल अहिले नै जीर्ण बन्दै गएको हो । दार्चुलालाई राष्ट्रिय राजमार्गको पहुँचमा पुर्‍याउने एकमात्र चमेलिया पुल भएको बताइन्छ । बैतडी र दार्चुलाका नागरिकलाई आवतजावत गर्न चमेलिया पुल मुख्य मार्ग भए पनि जीर्णोद्धारका लागि कसैले पहल नगरेको स्थानीयबासीको गुनासो छ ।

दार्चुलालाई सडक सञ्जालसँग जोड्न १२० मिटर लामो पुल ५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको थियो । सडक डिभिजन कार्यालय पाटन बैतडीका सवइन्जिनियर योगेन्द्र स्वाँरले पुलको क्षमताभन्दा बढी लोड भएका सवारी साधन सञ्चालन गर्दा जीर्ण बनेको बताए । पुल मर्मतको तयारी भइरहेको उनले जानकारी दिए ।