
दसैंको समयमा पनि निर्वाचन आयोगका कर्मचारी आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका हुन् ।
सरकारले आगामी मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।
हिन्दूहरुको महान् चाड दसैंमा पनि निर्वाचन आयोगका कर्मचारीहरुलाई आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी गर्न भ्याइ–नभ्याइ छ ।
आयोगका कर्मचारी चाडको समयमा पनि बिदा नबसी निर्वाचनको तयारीमा जुटेका हुन् ।
आयोग अहिले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि नियमावली र निर्देशिका बनाइरहेको छ ।
यस्तै, संविधानअनुसार समानुपातिक पद्धतिमा समूहमा आवश्यक पर्ने प्रतिनिधि छुट्याउने काममा पनि आयोग गृहकार्य गर्दैछ ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक कानुन दिएपछि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोगले असोज १७ गतेदेखि समानुपातिकतर्फको र कात्तिक दोस्रो सातादेखि प्रत्यक्ष निर्वाचन प्रणालीको मतपत्र छाप्न सुरु गर्ने जानकारी दिए ।
प्रवक्ता ढकालले मतदाता शिक्षा पाठ्यक्रम छपाइ र मतदान सामग्री व्यवस्थापनमा आयोग लागिसकेको जानकारी दिए ।
त्यसो त आयोगले मतपत्रको ढाँचालाई अन्तिम रुप दिनुका साथै समानुपातिकमा सहभागी दलहरुलाई निर्वाचन चिह्नसमेत वितरण गरिसकेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचन पनि उत्सवकैरुपमा मनाउनुपर्ने बताए । उनले निर्वाचन सफल पार्नका लागि जारी गरिएको निर्वाचन आचारसंहिताको पालना गर्न सबै पक्षलाई आग्रह पनि गरे ।
आयोगले निर्वाचनका लागि खरिद गर्नुपर्ने सामग्रीको सूची तयार पार्नुका साथै छपाइ र खरिद प्रक्रिया पनि सुरु गरिसकेको छ ।
निर्वाचन आयोगका प्रवक्ता ढकालकाअनुसार आगामी निर्वाचनका लागि मतपेटिका, नङमा लगाउने मसी, छेकाबार, पन्चिङ मेसिन, स्ट्याम्प प्याड, स्ट्याप्लर, डटपेनलगायत ६४ देखि ६७ प्रकारका मतदान सामग्री आवश्यक पर्छन् ।
निर्वाचन आयोगले आगामी मंसिरमा हुने निर्वाचनलाई लक्षित गरी असोज १७ गतेदेखि केन्द्र, क्षेत्र र जिल्लामा मतदाता शिक्षा तालिम सुरु गर्ने तयारी गरेको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्