
राजधानी र सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेकाले काठमाडौंको निर्वाचनलाई विशेषरुपमा हेरिन्छ ।
वि.सं. २०७० को संविधानसभा निर्वाचनमा ठूलो दल बनेको कांग्रेसले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १० ओटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।
क्षेत्र नम्बर–१ बाट पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठलाई सर्वसम्मत् सिफारिस गरिएको कांग्रेस जिल्ला कार्यसमितिका सभापति कृष्ण (सबुज) बानियाँले जानकारी दिए ।
क्षेत्र नम्बर–१ मा नेकपा एमालेले केन्द्रीय कमिटी सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज सावित्रा भुसालको नाम सर्वसम्मत् सिफारिस गरेको जिल्ला कमिटी अध्यक्ष कृष्ण राईले बताए ।
नेकपा माओवादी केन्द्रले वाम दलबीच चुनावमा तालमेलको घोषणा भएकाले अहिलेसम्म नाम सिफारिस नगरिएको जनाएको छ ।
माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखनाथ न्यौपाने वाम दल एक भएर चुनावमा जाने घोषणा भएकाले टुंग्याएका नाम पनि सार्वजनिक नगरिने बताउँछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष नवराज सिम्खडा १० ओटै निर्वाचन क्षेत्रबाट प्रत्यासीका नाम सिफारिस भइ आएकाले मंगलबार र बुधबार बैठक बसी नाम केन्द्रमा पठाइने बताए ।
काठमाडौं क्षेत्र नम्बर–१ मा विवेकशील साझा पार्टीले संयोजक रवीन्द्र मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता रमेश पौडेलले बताए ।
क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसले तीनजनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय सभापति उपेन्द्र कार्की, सांसद दीपकप्रसाद कुइँकेल र महासमिति सदस्य लोकेश ढकालको नाम पार्टी केन्द्रीय समितिमा सिफारिस गरिएको जिल्ला समितिले जनाएको छ ।
क्षेत्र नम्बर–२ मा एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम सर्वसम्मत् सिफारिस गरेको छ ।
क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसले सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत, महासमिति सदस्य हरिबोल भण्डारी, महामिति सदस्य एवं नेपाल तरुण दल काठमाडौंका अध्यक्ष कृष्णजी खड्का र बीपी संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलको नाम केन्द्रमा पठाएको छ ।
एमालेले भने पार्टीका जिल्ला अध्यक्ष कृष्ण राईको नाम सर्वसम्मत् सिफारिस गरेको छ ।
क्षेत्र नम्बर–४ मा कांग्रेसले सांसद गगनकुमार थापा, महासमिति सदस्य नरोत्तम वैद्य र महासमिति सदस्य जानु घिमिरेको नाम सिफारिस गरेको छ ।
यो क्षेत्रमा एमालेले सांसद राजन भट्टराईको नाम सर्वसम्मत् सिफारिस गरेको छ ।
विवेकशील साझा पार्टीले यो क्षेत्रबाट सुबुना बस्नेतलाई उम्मेदवार बनाउने भएको छ ।
क्षेत्र नम्बर–५ मा कांग्रेसले क्षेत्रीय सभापति रमेश खड्का, पूर्वमहासमिति सदस्य श्रीविनोद भट्टराई, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं महासमिति सदस्य प्रेमबहादुर खड्का र महासमिति सदस्य एवं वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम केन्द्रमा बुझाएको छ ।
एमालेले महासचिव ईश्वर पोखरेलको नाम सर्वसम्मतरुपमा केन्द्रीय कमिटीमा सिफारिस गरेको छ । यो क्षेत्रबाट दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता नरहरि आचार्य निर्वाचित भएका थिए ।
यो क्षेत्रमा विवेकशील साझा पार्टीले संयोजक उज्ज्वलबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
क्षेत्र नम्बर–६ मा कांग्रेसले जिल्ला सभापति बानियाँ र रक्षामन्त्री भीमसेनदास प्रधानको नाम सिफारिस गरेको छ ।
एमालेबाट भने ३ नम्बर–प्रदेश कमिटी सदस्य योगेन्द्र संग्रौलालगायतको नामका विषयमा छलफल भइरहेको जिल्ला अध्यक्ष राईले बताए । यो क्षेत्रको नाम टुंगिन भने बाँकी रहेको एमाले जिल्ला कमिटीले जनाएको छ ।
क्षेत्र नम्बर–७ मा कांग्रेसले महासमिति सदस्य सुदर्शन आचार्य, जिल्ला समिति सदस्य विजय माली, क्षेत्रीय सभापति मुकुन्द रिजाल, रक्षामन्त्री प्रधान, यसअघि दोस्रो संविधानसभा निर्वाचनमा चुनाव लडेकी महासमिति सदस्य प्रमिला सिंह र समानुपातिक सांसद ओमदेवी मल्लको नाम सिफारिस गरेको छ ।
एमाले जिल्ला कमिटीले भने दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित सांसद रामवीर मानन्धरको नाम सर्वसम्मत् सिफारिस गरेको छ । साझा पार्टीले अनुपा श्रेष्ठलाई प्रतिस्पर्धामा उतारेको छ ।
क्षेत्र नम्बर–८ मा कांग्रेसले केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं सांसद नवीन्द्रराज जोशीको नाम सर्वसम्मत् सिफारिस गरेको छ ।
एमालेले पार्टी केन्द्रीय कमिटी सदस्य एवं कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय कमिटी सदस्य जीवनराम श्रेष्ठको नाम पार्टी केन्द्रमा बुझाउने भएको छ । विवेकशील साझा पार्टीले यो क्षेत्रबाट पुकार बमलाई उम्मेदवार तोकेको छ ।
क्षेत्र नम्बर–९ मा कांग्रेसले सांसद ध्यानगोविन्द रञ्जित र महासमिति सदस्य दामोदर गौतमको नाम सिफारिस गरेको छ ।
एमालेले भने उपाध्यक्ष एवं ३ नम्बर प्रदेश कमिटी संयोजक अष्टलक्ष्मी शाक्य र पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठको नाम पठाएको छ । साझा पार्टीले मिलन पाण्डेलाई प्रतिस्पर्धी बनाएको छ ।
क्षेत्र नम्बर–१० मा कांग्रेसले युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको नाम सर्वसम्मत् सिफारिस गरेको छ । केसीले दोस्रो संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गर्दैै निर्वाचित भएका थिए ।
यो क्षेत्रबाट एमालेले समानुपातिक सांसद विनोद श्रेष्ठ र वैकल्पिक केन्द्रीय कमिटी सदस्य सुरेन्द्र मानन्धरको नाम जिल्ला कमिटीका तर्फबाट केन्द्रीय कमिटीमा बुझाएको छ ।
वि.सं. २०७० मंसिर ४ गते भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ७ मा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।
काठमाडौं–२ बाट निर्वाचित एमाले नेता नेपाल रौतहट जिल्लाबाट पनि निर्वाचित भएपछि उनले काठमाडौं–२ छोडे ।
वि.सं. २०७१ असार ८ गते भएको उपनिर्वाचनमा कांग्रेसका दीपकप्रसाद कुइँकेल विजयी भएका थिए ।
काठमाडौंमा महिला तीन लाख ११ हजार ७६३, पुरुष दुई लाख ९१ हजार ८४६ र ११ जना तेस्रोलिंगी गरी कुल ६ लाख तीन हजार ६२० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्