चितवन, पुस २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्षी दललाईसमेत विश्वासमा लिएर अघि बढ्ने बताएका छन् ।
मंगलबार चितवनमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा चितवनको पुनःनिर्माणका विषयमा भएको छलफलमा अध्यक्ष दाहालले राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्षीसित मिलेर काम गर्ने सहमति भएको दाबी गरे ।
‘हिजो प्रधानमन्त्रीजीको अध्यक्षतामा बालुवाटारमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवासहित वरिष्ठ नेताहरुकाबीचमा छलफल भयो’–उनले भने–‘राष्ट्रिय मुद्दामा सहमति गरेर जाने कुरा भएको छ ।’
चितवन जिल्लाको महत्वकाबारेमा धेरैलाई जानकारी रहेको भन्दै उनले जिल्लाको पुनःनिर्माणलाई गति दिइने पनि बताए ।
‘भूकम्पले बढी क्षति गरेका १४ जिल्लालाई पहिला प्राथमिकतामा राखेर पुनःनिर्माण गरियो । त्यसले गति पनि लिएको छ । अब १७औं जिल्लामा रहेको चितवनको पुनःनिर्माणले पनि गति लिन्छ । भएका प्राविधिक समस्याहरु मन्त्रिपरिषदबाट नै सल्टाउने काम हुन्छ’–अध्यक्ष दाहालले भने ।
१२औं चितवन महोत्सव उद्घाटन गर्न यहाँ आएका दाहाल मंगलबार विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।









प्रतिक्रिया दिनुहोस्