
उनीहरुले हत्याको छानबिन गर्नका लागि आयोग शीघ्र गठन गर्न र यसकाबारेमा सदनलाई जानकारी गराउन गृहमन्त्रीसँग माग गरे ।
निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको सोमबार अपराह्न मध्यबानेश्वरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।
सभामुख ओनसरी घर्तीसित समय माग गरी नेपाली कांग्रेसका दीपक गिरीले ‘आगामी प्रदेश, प्रतिनिधिसभाको निर्वाचको मुखमा गौचनको हत्या हुनुले निर्वाचन नहुने आशंका बढेको छ’–भने ।
नेकपा एमालेका जनार्दन ढकाललले गौचनको शीघ्र हत्याको छानबिन गर्न माग गर्दै हत्यारालाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।
नेकपा माओवादी केन्द्रका रामनारायण बिंडारीले दिउँसै गौचनको हत्या हुनु शान्ति–सुरक्षाको कमजोरी रहेको बताए ।
नेपाल लोकतान्त्रिक फोरमका योगेन्द्र चौधरीले ‘राजधानीमा खोजी–खोजी र छानी–छानी मान्छे मार्ने प्रवृत्ति’ बढेकामा चिन्ता व्यक्त गरे ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र सांसद रुक्मिणी चौधरीले गौचनका हत्याकाबारेमा सदनमा जानकारी गराउन गृहमन्त्रीसँग माग गरे ।
सांसद रोमी गौचन थकाली र परशुराम तामाङले गौचनको हत्यापछि निर्माण व्यवसायीलाई पनि अज्ञात समूहले हत्याको धम्की दिएकामा सरकारको ध्यानाकर्षण गराए । रासस
प्रतिक्रिया दिनुहोस्