११ असार २०८२, बुधबार | Thu Jun 26 2025


निर्वाचनकाबारेमा अब आशंका नगर्नोस् : प्रमुख आयुक्त यादव


0
Shares

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत सम्मिलित निर्वाचन सन्चालन र व्यवस्थापन तालिम समापन समारोहमा उनले निर्वाचन हुनुपर्छ भन्ने सन्दर्भमा कतैबाट पनि विचलनको अवस्था नदेखिएकाले निर्वाचनकाबारेमा आशंका नगर्न सबैसँग अनुरोध गरे ।

स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको पूर्णपालना गर्न/गराउन राजनीतिक दल र सरकारलाई सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले आचारसंहिता उल्लंघन गर्ने जो–कोहीलाई पनि निर्वाचन आयोगले कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गरे ।

निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र प्रहरी प्रशासनलाई सहयोग र समन्वय गरेर काम गर्न सुझाव दिँदै उनले निर्वाचनका विषयमा भरसक आयोगबाट आदेश दिन नपर्नेगरी जिम्मेवारी बहन गर्न निर्देशन दिए ।

आयुक्त सुधीरकुमार शाहले विगतका निर्वाचनकोजस्तो कमी–कमजोरी र त्रुटि दोहोरिन नदिन समन्वय र सहयोगी भावनाले मिलेर काम गर्न निर्देशन दिए ।

मुख्य निर्वाचन अधिकृतकोतर्फबाट जिल्ला न्यायाधीश हेमन्त रावलले नेपालको संविधान र संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा हुन लागेको निर्वाचनमा कसैसँग सम्झौता, दबाब र प्रभावमा नपरी इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचन अधिकृत हरिशंकर ज्ञावलीले निर्वाचनको महायज्ञको जिम्मेवारीलाई हरतरहले सफल तुल्याउन कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे ।

प्रशिक्षणमा उनीहरुलाई निर्वाचनमा आउनसक्ने समस्या र समाधानको उपायकाबारेमा प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणमा निर्वाचनमा खटिने ७७ जिल्लाका जिल्ला न्यायाधीश, जगेडामा राखिएका ९ जना न्यायाधीश र न्याय सेवाका उपसचिवको सहभागिता थियो । रासस