१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


तिलौराकोट दरबार क्षेत्रमा उत्खनन्


0
Shares

तौलिहवा, पुस २४ । गौतमबुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा उत्खनन् तथा अन्वेषण थालिएको छ । 

युनेस्कोको आर्थिक सहयोगमा तिलौराकोट दरबार क्षेत्रमा यस वर्षको उत्खनन् कार्यको शुरुआत गरिएको हो । तिलौराकोट दरबार क्षेत्रको पूर्वी द्वार बाहिरको कन्थक स्तुपको उत्खनन् पनि यसै वर्ष सम्पन्न गरिने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले जानकारी दिए ।

यस वर्ष तिलौराकोट दरबार क्षेत्रभित्र रहेको समयमाई मन्दिर किनार, मध्य संरचना परिसर र कन्थक स्तुप क्षेत्रको उत्खनन् गरिने पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताए । ‘अघिल्ला वर्षमा गरिएको उत्तरी द्वारको संरक्षणको काम पनि यस वर्ष गरिनेछ,’ उनले भने, ‘तिलौराकोट दरबार क्षेत्रको वरपर अन्वेषण, नक्साङ्कन र भिजिटर सर्भेको काम पनि गरिनेछ ।’

उत्खनन् र संरक्षणले मात्रै पर्यटन प्रवर्द्धन हुन नसक्ने भन्दै यस क्षेत्रका सर्वसाधारणको आर्थिक विकासमा सहयोग पुग्ने योजनालाई पनि अघि बढाइने पुरातत्व विभागले जनाएको छ । (रासस)