Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


स्थानीय तहबाटै धमाधम शिक्षक भर्ना


0
Shares

परासी, पुस २४ । पश्चिम नवलपरासीका स्थानीय तह आफैँले शिक्षक भर्ना गरेका छन् । 

सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभावको समस्या समाधान गर्न संविधानले दिएको अधिकार प्रयोग गर्दै शिक्षक भर्ना गरिएको स्थानीय तहले जनाएका छन् । सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाले शिक्षक भर्ना गरिसकेका छन् भने पाल्हीनन्दन गाउँपालिकाले भर्नाका लागि दरखास्त आह्वान गरेको छ । रामग्राम नगरपालिकाले शिक्षक भर्नाका लागि सूचना प्रकाशन गर्ने तयारी गरेको छ । 

शिक्षक अभाव भएपछि सुस्ता गाउँपालिकाले २० शिक्षकलाई करारमा भर्ना गरेको छ । विद्यार्थी सङ्ख्याअनुसार शिक्षक नहुँदा अध्यापन कार्य प्रभावित भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । उनी भन्छन्, ‘निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब खुवाउन विद्यालयलाई समस्या भएको छ, पठनपाठन सहज बनाउन शिक्षक भर्ना गरिएको हो ।’ 

प्रतापपुर गाउँपालिकाले शिक्षा अनुदान कोटाबाट मिलान गर्ने गरी तीन शिक्षक करारमा भर्ना गरेको प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले जानकारी दिए । पाल्हीनन्दन गाउँपालिकाले १२ स्वयंसेवक शिक्षक करारमा भर्ना गर्ने गरी दरखास्त आह्वान गरेको छ ।

रामग्राम नगरपालिकाले करारमा स्वयंसेवक शिक्षक भर्ना गर्ने तयारी गरिरहेको नगरपालिकाका सूचना अधिकारी एवं शिक्षा शाखा प्रमुख तोयनाथ लम्सालले जानकारी दिए ।

नेपालको संविधानले विद्यालयको अनुमति, नवीकरण, त्यसको स्थानान्तरण, व्यवस्थापन, विद्यालय व्यवस्थापन समिति गठनलगायत स्थानीय तहको समग्र नीति योजना कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयन गर्ने गराउने, अनौपचारिक शिक्षाका काम, पूर्वप्राथमिक बालविकास केन्द्रको सञ्चालन, निरक्षरता उन्मूलनलगायतका काम स्थानीय तहले गर्न पाउने गरी अधिकार दिएको छ । (रासस)