३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


कैलालीमा एक हजार जनाले एचआइभीविरुद्धको औषधि खाँदै


0
Shares

जिल्ला जनस्वास्थ्य कार्यालय र ‘एड्स हेल्थकेयर फाउन्डेशन’को संयुक्त आयोजनामा शुक्रबार सन्चारकर्मीका लागि गरिएको कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार एक हजार १६६ जनाले एचआइभी एड्सविरुद्धको औषधि सेवन गरिरहेका र थप ११ जना औषधि खानुपर्ने प्रक्रियामा रहेका छन् ।

संक्रमितमध्ये महिलाको संख्या बढी छ । औषधि खाइरहेकामध्ये १८ वर्षमुनिका १३७ बालबालिका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक महेश चन्दले कार्यक्रममा जानकारी दिए ।

संक्रमित बालबालिकालाई ‘सेभ द चिल्ड्रेन’मार्फत् मासिक रु एक हजार सहयोग भइरहेको जनाइएको छ । यी सेन्टरबाट औषधि सेवन गरिरहेकामध्ये गएको एक वर्षमा २० जनाको एड्सका कारण मृत्यु भइसकेको छ ।

कैलालीको सेती अञ्चल अस्पताल र टीकापुर अस्पताल परिसरमा एआरटी सेवा सन्चालनमा रहेको छ । यी दुबै सेन्टरमा कैलाली, कन्चनपुर, डोटी, बर्दिया, डडेलधुरा, दार्चुला, बझाङ, दैलेख, सुर्खेतलगायतका जिल्लाका साथै सीमावर्ती भारतका संक्रमितले एआरटी औषधि खाइरहेका छन् ।

औषधि खानेमध्ये कैलाली जिल्लाका मात्रै ९९५ जना रहेका छन् ।

कार्यक्रममा हेल्थ केयर फाउन्डेशनका माधव पन्तले यी दुई सेन्टरमा हालसम्म एक हजार ८५७ जनाको एचआइभी परीक्षण भएकोमा पछिल्लो एक वर्षमा मात्रै ११७ जना संक्रमित भएको पाइएको जानकारी दिए ।

जनस्वास्थ्य निरीक्षक चन्दले यो रोगबारे बढेको जनचेतनाका कारण केही वर्षयता मृत्यु दर र औषधि खान छोड्ने दर घट्दै गएको बताए ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईं र पत्रकार उमिद बागचन्दले रोग रोकथामका बारेमा प्रकाश पारेका थिए । रासस