
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शपछि मन्त्रीहरुको शपथ साँझ ७ बजे गर्ने तय भएको हो ।
मन्त्रीहरुलाई राष्ट्रपतिले शपथ खुवाउने व्यवस्था रहेको छ । मन्त्रीहरुको शपथग्रहण राष्ट्रपति भवन शीतल निवासमा हुनेछ ।
राष्ट्रपति भण्डारीले शनिबारै निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा सरकार विस्तार गर्नु आचारसंहिताविपरीत हुने/नहुने विषयमा आयोगका पदाधिकारीहरुसँग छलफल गरेकी थिइन् ।
छलफलमा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले आयोगले शपथ नै रोक्नका लागि सुझाव दिन नसक्ने बताएको जनाइएको छ ।
उनले सो विषयमा स्वयं राष्ट्रपतिलाई निर्णय गर्ने अधिकार रहेको बताए ।
आयोगसँगको छलफललगत्तै राष्ट्रपतिले प्रधानमन्त्री देउवासँग पनि छलफल गरेकी थिइन् ।
प्रधानमन्त्री देउवाले शुक्रबार राप्रपाबाट कमल थापालाई उपप्रधानमन्त्रीसहित चारजनामन्त्री र चारजना राज्यमन्त्री नियुक्त गरेका थिए । उनीहरुको शपथग्रहण शनिबार साँझ तय गरिएको हो ।
योसँगै प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद ६४ सदस्यीय भएको छ । यो नेपाली इतिहासकै ‘जम्बो’ मन्त्रिपरिषद हो ।
प्रतिक्रिया दिनुहोस्