
लिम्बूवानले तेह्रथुम जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सर्वसम्मतरुपमा उम्मेदवारहरु सिफारिस गरेको छ ।
जिल्लाबाट यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र नेकपा मालेले उम्मेदवारका आकांक्षीहरुको सूची पठाइसकेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभा सदस्यका लागि दुुईओटा निर्वाचन क्षेत्र रहेका छन् ।
संघीय लिम्बूवान मञ्चले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य शंकरमान खेवा र समानुपातिकतर्फ जिल्लाकार्य समिति सदस्य गुमानसिंह लिम्बुलाई उम्मेदवार बनाएको छ ।
यस्तै, प्रदेशसभा सदस्यको निर्वाचनमा क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ जिल्ला कार्यसमितिका पूर्वअध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य देउनारायण सम्बाहाम्फेलाई उम्मेदवार बनाइएको छ ।
समानुपातिकतर्फ केन्द्रीय सदस्य खेलप्रसाद सम्बाहाम्फेको नाम सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष विजय निङ्लेकुले बताए ।
यस्तै, प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्र नम्बर–२ मा प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य विष्णुकुमार लिम्बू (शेशेहाङ)लाई उम्मेदवार बनाइएको छ । लिम्बू नेपाल पत्रकार महासंघका पूर्वसहसचिव तथा पत्रकारसमेत हुन् ।
समानुपातिकतर्फ आठराई थुम कार्यसमिति सदस्य जितबहादुर कन्दङवाको नाम पठाइएको अध्यक्ष निङ्लेकुले जानकारी दिए ।
संघीय लिम्बूवान मञ्चले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको खुकुरी चुनाव चिह्न लिएर मैदानमा उत्रिने जनाएको छ ।
प्रदेशसभा क्षेत्र नम्बर–१ मा म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्दछन् ।
यस्तै, क्षेत्र नम्बर–२ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्दछन् ।
प्रतिक्रिया दिनुहोस्