Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


प्रधानमन्त्रीज्यू, तपाइँलाई थप मन्त्री किन चाहियो ? : ओली


0
Shares

व्यवस्थापिका–संसदको शनिबार अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतमा वक्तव्य दिँदै उनले संसदको अवधि सकिन एक दिनअघि अन्य दललाई जानकारीबिना मन्त्रिमन्डलमा सदस्य थप्ने प्रयास गलत भएको टिप्पणी गरे ।

शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गर्न एमालेले पूरै साथ दिने उनले बताए । आगामी मंसिर १० र २१ गतेका लागि ती निर्वाचनको मिति तय भएको छ ।

उनले प्रश्न गर्दै भने–‘प्रधानमन्त्रीज्यू, तपाइँलाई थप मन्त्री किन चाहियो ? यो संख्या तपाइँले संसदका १० प्रतिशतसम्मलाई मन्त्री बनाउन मिल्छ भनेर दिएको अभिव्यक्तिको पनि उल्लंघन भएन र ? फेरि शपथग्रहण गराउन कसरी जाँदै हुनुहुन्छ ? के लोकतन्त्र भनेको कानुन नमान्नु हो ?’

निर्वाचन आयोगले आचारसंहिताविपरीत मन्त्री थप्न हुन्न भन्ने पत्राचार गरेको अवस्थामा कानुनको पालना गराउने सरकारबाटै आचारसंहिताको उल्लंघन हुनु दुःखद् भएको टिप्पणी गर्दै उनले प्रतिपक्षको यसमा गम्भीर आपत्ति र विरोध रहेको जानकारी गराए ।

ओलीले यसबारे आफूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि अवगत गराएको उल्लेख गर्दै सम्भव भए मन्त्री थप्ने निर्णय फिर्ता लिन आग्रह गरे ।

एमाले र माओवादी केन्द्रको चुनावी तालमेल लोकतान्त्रिक मूल्य–मान्यता एवं राष्ट्रियताको सम्वद्र्धनका लागि भएकाले यसबाट कोही तरंगित हुन नपर्ने भन्दै उनले अनेक बाधा र अड्चनबीच नयाँ संविधान जारी हुन सकेको र यसमा धेरै दल र अन्य पक्षले भूमिका निर्वाह गरेको स्मरण गरे ।

उनले तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र वर्तमान सभामुख ओनसरी घर्तीले खेलेको भूमिकाप्रति पनि आभार व्यक्त गरे । रासस