
काठमाडौं(जिल्ला ब्यूरो) । सुदूरपश्चिमका बैतडीसहित अधिकांश पहाडी जिल्लामा गएरातिदेखि हिमपात भएको छ ।
बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्चपहाडि क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ ।
यस्तै दार्चुलाको उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङ्करलगायतका ठाउँमा हिमपात भएको हो ।
डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टेलगायतका स्थानमा पनि हिमपात भएको छ । हिमपात भएसँगै पहाडी जिल्लामा चिसोका कारण जनजीवन प्रभावित भएको छ ।
यसैबीच लामोसमयको खडेरीपछि हिमपात भएकाले किसानहरु खुसी भएका छन् ।
हिमपातले गहुँलगायतका हिउँदेबाली हुर्कन सहयोग गर्ने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए ।
यता, हिमपातका कारण हिमाली जिल्ला हुम्लाको जनजीवन पनि प्रभावित बनेको छ ।
हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दातल झरेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।
अहिले सिमकोटमा झन्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ ।
यता, बागलुङको पश्चिम ढोरपाटन तथा निसीखोलाको उच्च क्षेत्रमा पनि हिमपात भएको छ ।
प्रतिक्रिया दिनुहोस्