१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


चितवनमा ४१ हजार नयाँ मतदाता थपिए


0
Shares

जिल्ला निर्वाचन कार्यालयले पठाएको विवरणलाई अन्तिमरुप दिँदै निर्वाचन आयोगले मतदाता नामावली पठाएसँगै चितवनको मतदाता विवरण टुंगो लागेको हो ।

स्थानीय तहको निर्वाचनभन्दा यस निर्वाचनमा ४१ हजार बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय भरतपुरका सूचना अधिकारी भीम ढकालले जानकारी दिए ।

चितवनमा प्रतिनिधिसभातर्फ सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर–३ मा रहेका छन् ।

यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नम्बर–६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र माडी नगरपालिका रहेकाले मतदाताको संख्या बढी भएको हो । यस क्षेत्रमा कुल एक लाख २५ हजार ८१८ मतदाता रहेका छन् ।

यस्तै, क्षेत्र नम्बर–१ मा कुल एक लाख १९ हजार ९९८ मतदाता रहेका छन् । क्षेत्र नम्बर–१ मा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका पर्दछ ।

क्षेत्र नम्बर–२ मा कुल एक लाख ८ हजार २१९ मतदाता रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नम्बर–१, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ वडासँगै, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछ ।

पुरुषभन्दा महिला मतदाता बढी
चितवनमा पुरुषको तुलनामा महिला मतदाता बढी देखिएका छन् । जिल्लामा कुल एक लाख ६९ हजार ९६५ मतदाता पुरुष छन् भने एक लाख ८४ हजार ६९ मतदाता महिला छन् । जिल्लामा एकजनामात्रै तेस्रोलिंगी मतदाता छन् ।

प्रदेशसभाको क्षेत्र नम्बर–३ (क)मा सबैभन्दा बढी मतदाता
चितवनमा प्रतिनिधिसभामा तीनओटा र प्रदेशसभामा ६ ओटा निर्वाचन क्षेत्र रहेका छन् ।

जसमध्ये प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर–३ (क)मा सबैभन्दा बढी मतदाता रहेका छन् । यस क्षेत्रमा ३२ हजार ५४ पुरुष र ३६ हजार ३०६ महिला मतदाता गरी कुल ६८ हजार ३६० मतदाता रहेका छन् ।

यसपछि क्षेत्र नम्बर–१ (ख) ३० हजार ६९९ पुरुष र ३३ हजार ७५८ महिला गरी कुल ६४ हजार ४५७ मतदाता रहेका छन् ।

त्यसैगरी, क्षेत्र नम्बर–३ (ख)मा २७ हजार ४९५ पुरुष र २९ हजार ९६३ महिला गरी कुल ५७ हजार ४५८ मतदाता रहेका छन् ।

यस्तै, क्षेत्र नम्बर–२ (ख)मा २६ हजार २०१ पुरुष, २९ हजार ७१७ महिला र एक तेस्रोलिंगी मतदाता गरी कुल ५५ हजार ९१९ मतदाता रहेका छन् भने (क)मा २६ हजार ५१६ पुरुष र २५ हजार ७८४ महिला गरी कुल ५२ हजार ३०० मतदाता रहेका छन् ।

यस्तै क्षेत्र नम्बर–१ (क)मा २७ हजार पुरुष र २८ हजार ५४१ महिला गरी कुल ५५ हजार ५४१ मतदाता रहेका छन् ।