२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गच्छदार कांग्रेसमा मिसिँदा जे देखियो, कसले–के भने ? (भिडियो)


0
Shares

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी एकता कार्यक्रममा दुई पार्टीबीच एकताका लागि भएको सहमतिपत्र सार्वजनिक गर्दै दुई पार्टी एक भएको घोषणा गरिएको हो ।

गच्छदार नेपाली कांग्रेस छोडेर २०६४ साल माघमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपालमा गएका थिए । तर, पछि आफैंले नेतृत्व गर्नेगरी नयाँ पार्टी बनाएका थिए ।

‘नेपालमा वामपन्थीहरुको एकतासहित दुई तिहाइ सिट ल्याएर संविधान संशोधन गर्दै जनवादतर्फ लैजाने षड्यन्त्र भएपछि पार्टी एकता’ गर्नुपरेको दुवै दलले जनाएका छन् ।

उनीहरुले मधेसी जनताले उठाएको माग पूरा गर्न संविधान संशोधन गरेरै जाने दृढता व्यक्त गरेका छन् ।

एकता घोषणासभामा बोल्दै नेता गच्छादारले वामपन्थीहरु एक भएर संविधान संशोधन गर्दै लोकतन्त्रलाई नै मास्ने खतरा देखेपछि लोकतन्त्र बचाउन आफू कांग्रेसमा आएको बताए ।

उनले कांग्रेसले नेतृत्व गर्ने गठबन्धनले बहुमत ल्याएमात्र जनताको समृद्धि सम्भव हुने बताए ।

बोल्नेक्रममा भावुक बनेका गच्छदारले आफूले कांग्रेसलाई एक नम्बर पार्टी बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

संविधान जारी गर्नेक्रममा १६ बुँदे सहमति बनाउन आफूले निकै मिहिनेत गरेको स्मरण गर्दै गच्छदारले मधेस र थारु जनताको माग सम्बोधन गर्न आफूले नयाँ पार्टी बनाएर काम गरेको प्रष्टीकरण दिए ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गच्छदारको प्रवेशले कांग्रेस र लोकतन्त्रवादी शक्तिलाई ऊर्जा मिलेको भन्दै गच्छदार कांग्रेसको नेतृत्व तहमै रहेर काम गर्ने विश्वास दिए ।

यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वामपन्थीहरु एक भएर लोकतन्त्र मास्ने अभियानमा जुटेकाले लोकतन्त्रको रक्षार्थ लोकतन्त्रवादीहरु एक भएको बताए ।

उनले गच्छादारको कांग्रेसमा आवागमनले लोकतन्त्रवादीहरुलाई ठूलो ऊर्जा मिलेको बताए ।

कार्यक्रममा कांग्रेस र लोकतान्त्रिक फोरमबीच भएको सहमति वाचन गर्दै नेता जितेन्द्र देवले लोकतन्त्र बचाउनकै लागि दुई दलबीच एकता गरिएको बताए ।

भिडियो हेर्नुहोस्