
कल्पना बोहरा
अछाम, पुस २३ । अछामको रामारोशन गाउँपालिकामा आईतबारबाट विशेषज्ञसहितको तीन दिने स्वास्थ्य शिविरसहित वृहत एकीकृत शिविर सुरु भएको छ ।
रामारोशन गाउँपालिका र प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजना तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको संयोजनमा शिविर सञ्चालन गरिएको हो । शिविरमा औपचारिक रुपमा नागरिकता वितरण गरेर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले उद्घाटन गरे ।
मन्त्री बोहराले सरकारी सेवा सुविधाबाट कुनै पनि नागरिकहरुले बञ्चित हुन नपरोस् भनेर शिविर आयोजना गरिएको बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मुजाबगरमा सञ्चालन भएको एकीकृत शिविरबाट स्थानीयले सरकारको अनूभूति गर्न पाउने विश्वास व्यक्त गरे ।
मन्त्री सुवेदीले जनतासँग बोलेका बाचा पूरा गर्न समय आएको बताउँदै जनता अब भाषण र आश्वासनमात्रै सुन्न तयार नरहेको बताए ।
शिविर उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव नारायण प्रसाद बिनाडीले कुना कन्दरामा रहेका नागरिकलाई सहज रुपमा सरकारी सेवा प्रदान गर्न शिविर फलदायी हुने बताए ।
रामारोशन गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदले दुर्गम तथा उत्पीडित र उपेक्षामा परेको रामारोशनमा बृहत शिविर आयोजना गरेकोमा सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस्