२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ध्रुवीकरणको रफ्तार (भिडियो रिपोर्ट)


0
Shares

केही आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकेन्द्रित गरी ध्रुवीकरणमा लागेका छन् त केही दलले पार्टी एकीकरणसम्मै गर्न थालेका छन् ।

अहिलेको अभ्यास हेर्दा अब वाम र प्रजातान्त्रिक दुई कित्तामा मुलुकको राजनीति ध्रुवीकृत हुने प्रस्ट देखिएको छ ।

गत असोज १७ गते सबैलाई आश्चर्यमा पार्नेगरी दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीरणसम्मै गर्ने भन्दै तत्काललाई चुनावी तालमेलको घोषणा गरेपछि ध्रुवीकरणको रफ्तार बढेको हो ।

सरकारमा कांग्रेससँग साझेदारी गरिरहेकै समयमा एमालेसँग पार्टी नै एकीकरण गर्ने भन्दै माओवादी जोडिएपछि लोकतान्त्रिक कित्तामा रहेकाहरु पनि गठबन्धन बनाउने अभ्यासमा जुटेका हुन् । जति चुनाव नजिकिँदै छ, दलहरुबीचको ध्रुवीकरण पनि चुलिँदोछ ।

वाम र प्रजातान्त्रिक कित्ता बनाइँदै गर्दा तराई–मधेसका दुई दलले भने क्षेत्रीय तालमेलमा हात बढाएका छन् ।

वाम धुरीको नेतृत्व एमालेले थामेको छ भने लोकतान्त्रिकको नेपाली कांग्रेसले । तेस्रो क्षेत्रीय धु्रव जीवित राख्ने अभ्यासमा भने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल जुटेका छन् ।

ध्रुवीकरणकै कारण साना दलहरुको अस्तित्व लोप हुँदा उनीहरु ठूला दलमा विलयको बाटो रोजिरहेका छन् । यहीक्रममा कांग्रेससँग फोरम लोकतान्त्रिकले एकीकरण गरिसकेको छ भने अखन्ड पार्टी कांग्रेसमा समाहित भएको छ ।

वाम गठबन्धनबाट अलग्गिएको नयाँ शक्ति नेपाल कांग्रेससँगै मिलेर अस्तित्व जोगाउन खोज्दैछ ।

राजपाका सांसद जंगीलाल राय त आगामी निर्वाचनको लागि नेपाली कांग्रेसबाट सिफारिस नै भइसकेका छन् ।

प्रजातान्त्रिक गठबन्धनमा दुवै राप्रपा र अरु केही दल चुनावी तालमेल गर्न खोज्दैछन् । उनीहरु प्रजातन्त्रको रक्षाको लागि गठबन्धन गर्नुपरेको बताउँछन् ।

एमालेले नेतृत्व गरिरहेको वाम गठबन्धनमा पनि दल तथा प्रभावशाली नेता समाहित भइरहेका छन् । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ भने नेकपा संयुक्त माओवादी केन्द्रमा विलय भएको छ ।

निवर्तमान उपसभामुख गंगाप्रसाद यादव राप्रपा छाडेर एमाले प्रवेश गरेका छन् भने राजपा छाडेर पूर्वमन्त्री हृदयेश त्रिपाठीसहित केही नेता सूर्य चिह्न लिएर चुनाव लड्दैछन् ।

वाम गठबन्धनमा आवद्ध दलका नेता भने राजनीतिक स्थायित्व र सम्मृद्धिका लागि एक ठाउँमा उभिएको दाबी गर्छन् ।

कांग्रेस र एमालेबीच राष्ट्रिय ध्रुवीकरणको होड चलिरहँदा क्षेत्रीयस्तरमा संघीय समाजवादी फोरम र राजपा एक भएर चुनावमा जाने सहमति गरेका छन् ।

भिडियो हेर्नुहोस्