
यस वर्ष फूलको माग दोब्बर भएको छ । उत्पादन कम भएपछि मूल्यमा पाँच गुणाले वृद्धि भएको छ । मखमली फूलको उत्पादन पर्याप्त भएपनि सयपत्री फूलको उत्पादन भने विगत वर्षका तुलनामा कम भएपछि मूल्य पाँच गुणाले वृद्धि भएको हो ।
गुन्डुमा पाँच वर्षदेखि फूलखेती गर्दै आएकी ५० वर्षीया सीता थापा यस वर्ष विगत वर्षभन्दा फूलको माग दोब्बर भएको र मागअनुसार मूल्य बढाउनु परेको बताउँछिन् ।
विगतका वर्षमा एक थुंगा सयपत्री फूल एक रुपैँयामा बिक्री गर्दै आएका सूर्यविनायक नगरपालिका गुन्डुका किसान यस वर्ष प्रतिथुंगा पाँच रुपैयामा बिक्री गरिरहेका छन् । यहाँका एक सयभन्दा बढी किसानले आधा रोपनीदेखि पाँच रोपनी जग्गामा फूलखेती गर्दा एक वर्षमा रु ५० हजारदेखि रु आठ लाखसम्म आम्दानी हुन थालेपछि किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
गुन्डुकी ४८ वर्षीया देवु कुँवर दिनको रु ५०० ज्याला तिरेर मखमली फूलको माला गाँस्न लगाएको बताउँछिन् । एउटा माला रु २५ देखि रु ५० सम्ममा बिक्री गर्ने गरेको उनले बताइन् । सयपत्री फूल उत्पादन कम भएकाले एउटै थुंगा पाँच रुपैयाँमा बिक्री गर्ने गरेको कुँवरले बताइन् ।
फूल र माला खोज्न गाउँ÷गाउँमै एक महिना अघिदेखि व्यापारी आउने भएकाले बजार खोज्दै जानु नपर्ने भएपछि सहज भएको फूलको व्यापार गर्दै आएकी ३० वर्षीया सविना नगरकोटी बताउँछिन् ।
यस वर्ष मागअनुसारको माला र फूल दिन नसक्दा समस्या परेको बताउँदै उने फूलखेती गर्ने जग्गाको समेत अभाव भएको बताइन् ।
पाँचवर्षदेखि जग्गा भाडामा दिएर फूलखेती गर्दै आएकी स्थानीयवासी इन्दिरा नगरकोटीले फूलबाट मनग्य आम्दानी हुने भए पनि मागअनुसारको फूल उत्पादन गर्न नसकेको बताइन् । सयपत्री फूल भर्खरै फुल्न थालेकाले फूलको अभाव भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्