१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


चितवनमा २६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु


0
Shares

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ । तीमध्ये स्क्रब टाइफसबाट दुईजनाको मृत्यु भइसकेको छ ।

विगत तीन महिनामा एक हजार ७६ जनामा स्क्रब टाइफसको र ६४४ जना बिरामीमा डेंगुको परीक्षण गरिएको सो कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताए ।

विभिन्न अस्पतालबाट प्राप्त पछिल्लो प्रतिवेदनअनुसार भरतपुर अस्पतालमा १०१, रत्ननगर बकुलहर अस्पतालमा ९, चितवन मेडिकल कलेजमा ७०, नारायणी सामुदायिक अस्पतालमा ६९, मनकामना अस्पतालमा दुई, सेन्ट्रल अस्पतालमा एकजना र निजी ल्याबमा १३ जनामा स्क्रब टाइफस भएको पाइएको हो ।

‘माइट’ नामको एक प्रकारको सूक्ष्म किरा (किर्ना)ले टोकेमा स्क्रब टाइफस रोग सर्ने चिकित्सकले बताएका छन् ।

यो रोग लागेमा अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर दुख्ने हुन्छ ।

रोग सार्ने किरा मुसाको कानमा बस्ने गर्छ । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने इपिडिमियोलोजी शाखाका प्रमुख डा. गुणनिधि शर्मा बताउँछन् ।

त्यस्तो ठाउँमा काम गर्दा सावधानी अपनाउनुपर्ने उनी बताउँछन् ।

डेंगु भने एडिस एजेप्टाइ नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्ने गर्छ । यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ ।

ज्वरो आएमा र दुई/तीन दिनसम्म निको नभएमा विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्ने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । रासस